Tuesday, December 30, 2008

Silence

सुनसान

निलेर आवाजको भ्यागुता
डम्म अघाएको सुनसान साँप
घस्रँदैछ बालुवा समयमाथि...

कोही नबसेको वर्षौं पुरानो घरमा आबाद सुनसानझैं
सुनसान छ
हामीले वास बसेको यो समय।

चर्को नारा र लोमहर्षक भाषणहरूको हल्लालाई
सुनसानको ब्ल्याक होलले निलिदिइहालेकोले
हल्लाले हल्ला गर्नै पाउँदैन

शून्य श्मशानको ज्यूँदो सुनसानझैं
अटब्बे जङ्गलको हरियो सुनसानझैं
सुकेको खोलाको ढुङ्गिलो सुनसानझैं
सुनसान छ
हामीले बाँचिरहेको यो वर्तमान।

बातहरू मारेर पनि ओठले
मौनको मौनै चित्तका ओठहरू भने
(खै शब्दहरू खै भावहरू)
दृश्यहरू देखेर पनि आँखाले
अन्धोका अन्धै बुद्धिका आँखाहरू भने
(खै रङ्गहरू खै प्रभावहरू)

यति धेरै कोलाहल र हल्लाखल्लाहरूमा पनि
अभावहरूको अबोला खाल्डोझैं
सुनसान छ
हामीले वरण गरेको यो समय।

सुनिदेऊ, निर्वाक बाक्केहरू बोलिरहेको यो मृत जीवाश्मलाई
हेरिदेऊ, आवाजका अजम्मरी दागहरू शरीरभरि यसका

शहरदेखि निकै टाढो एउटा गाँउको सुनसान
अझ, गाँउदेखि अरू टाढो एउटा तलाउको सुनसानझैं
झलमलझलमल कुनै ताराम्य रातको एक रहस्यमय सुनसानझैं
महाविनाशको कुनै महापल पर्खेर बसेको तुच्छ एक सुनसानझैं
डुल्दैछ एउटा सुन्दर सुनसान
हल्ला गर्दै जादुइ स्वरमा।

छरेको छ सुनसानले आवाजका बीउहरू
र अहिले सुनसान छ
चिच्याइरहेको-रिङिरहेको-चुहिरहेको
मक्किरहेको-गन्हाइरहेको-कुहिरहेको

Tangents

स्पर्शक



1
आधा रातमा कोही
‘बफेलो सोल्जर’ सुन्दैछ :

युद्धको हिस्टेरियाले फेरि
छटपटाउँदैछन् अमेरिकाहरू।

2
भूलहरूको माइलस्टोन पढ्दै
बाटोमा
कोशिशका यात्रीहरू।

3
फेडेड जिन्स लगाएका भीडहरू
‘पीङ्क फ्लोयड’ गाउँदै
डाँडाबाट जब ओह्रालो लागे -
ट्वाल्ल परे गाउँहरू।

4
जुलाईको चर्को घामले डामिँदै
पेण्ट गर्दैछन् उनीहरू
चुपचाप
हिल कार्ट रोडको अग्लो बोर्डमा
रेफ्रिजिरेटरको चिसो अनुहार।

5
घडीको पिञ्जडाभित्र कैद
मान्छे
कति आह्रिस गर्छ
उडेको चराको।

6
हडताल- चुङ्गी खेल्दैछन् केटाहरू
मूल सडकमाझ।

गाउँको चकमन्नता नै
अहिले चर्को नारा।

7
सिगसिग लाग्दो
जलथल छन् घरहरू त
पोखिएर टिभीको स्क्रीनबाट
कुन्नि के-हरू।

8
च्चच्चच्च...
धर्मपुस्तकमै चेप्टिएर मरेछ नि
विचरा नैतिकता त।

9
ताराम्य आकाश हेर्दा
आफूसम्म
बिर्सिनेले
कसलाई सम्झँदो हो?

10
सुनेर रङ्गहरूको कोरस
छक्क परे आँखाहरू।

11
तिमी पनि नाङ्गोभुतुङ्गो भइदेओ
म पनि नाङ्गोभुतुङ्गो भइदिन्छु

हेर्नुछ यसपालि
ढोङ्गले सेरिँदै मरेको।

12
साँझसँगै डुब्छ महानन्दामा
एउटा सिलगढी
र बिस्तार टाउको उचाल्छ
पानीमाथि
एउटा अर्को सिलगढी।

13
आँसुमा पनि मौन
हाँसोमा पनि मौन

यति चाहिँ सोधिन्छ तर-
अन्त, जाती नै?

14
र पनि रोक्न सकेन कसैले

गाइरहेकै त छन्
उनीहरू।

15
छ बजे बिहान
चिच्याउँदै बज्छ साइरन

झसङ्ग ब्यूँझेर
काममा जाने तरखर गर्छ
उमेर।

16
चियाबारीको जीउडाल हेरेर
रमाउने आँखाहरूलाई
वास्ता हुँदैन
चियाबारीको भोकसित
चियाबारीको झोंकसित।

17
झुपडीकी सिङानी केटी
‘विश्व सुन्दरी’ भई
सङ्कोच गएन :

युरोपको कुलीन मगभित्र
मगमग ‘दार्जीलिङ टी’।

18
पुड्के चिया गाछहरू
तन्किँदै कान थाप्छन् सखारै
गेटबाहिरको भीडलाई :

“राति भागेछ बजिया मेनेजर...”

19
वान्ता होला-होला भो उसलाई
सुनेर जनसभामा सुनाइएको भाषण

घर फिर्दा
उ सुइत्त हरायो
अँध्यारो गल्लीभित्र।

20
दैलो
मान्छे छिर्नलाई

खिरकी
हावा, उज्यालो छिर्नलाई

घर फर्कँदा
हर साँझ
त्यो अपार्टमेण्टको
एउटा खिरकीमा
कुन्नि कसको अनुहार देख्ने गर्छु

21
बस्नेलाई पर्खिएर
बसिरहने चौकी अचानक उठेर
कतै हिँडिदियो भने
के गर्छ बस्नेले

22
बैंसालु वेग
संयम फिटिएको खहरे

बैंसालु धैर्य
आवेग गाँसिएको नाउ

बैंसालु आक्रोश
सियोको नोकजस्तै
सानु
तर छेंडिदिने वारपार

23
छिङरिङ-छिङरिङ
बज्दैपछि
दैलोको फेङशुइ

मेरो यादमा तँ



24
घरिघरि
तेरो कलले वाक्क हुन्छु

कल नआएको दिन
कल गरेर गरेर
मै त वाक्क पार्छु

25
तन्नेरी छु अझ
उमेर
15 बिलियन

26
पतलुन आकाश

कुनै किशोरको
नीलो जिन्सझैं
यो आकाश
टाइट पतलुन हो
बलियो समयले लगाएको

27
एक घराइलो दिन थियो त्यो
जब घरले
अघर मनहरूलाई भन्यो-
”म घर छाड्दैछु आज”

28
घरबाट बाहिर
कुनै घरमा छु

यो पनि त घरै
तर किन म बेघर-बेघर छु

29
आमा बाबा बहिनी
घरभित्रै छन्
घराइलो हावासँगै

म चाहिँ
घर खोज्दैछु
घरदेखि निकै बाहिर

30
मेरो एउटा घर त
तिम्रो मन पनि हो

मलाई
बेघर बनाउँदैनौ होला नि?

31
जसले घरलाई केवल
छाना, भित्ता, दैलाखिडकी, भुइँ मात्र सम्झन्छ

उसँग घरको कुरा नगर्नू

32
उनीहरूको अनुहारमा
इलियटको बाँझो भूमि छ

कता जाने हुनन्
अनुहारविहीनहरू

लक्ष्य

लक्ष्य





टिङटिङटिङटिङटिङटिङटिङ...

एउटा बूढो हातले समाएको काठको मार्तोलले लामो ठोक्यो जलप उप्किसकेको घण्टीलाई। घण्टीको आवाज स्वात्त बिलिनसाथ डल्लै वातावरणलाई छुट्टी पाउनुको आनन्दको नित्य हल्लाले सुमुद्री ढेउले जस्तै निल्छ। ब्याग भिरिसकेपछि गेटबाहिर कुद्दै कराउँदै निस्किए दुवै। यसरी नै सधैं दुवै एकसाथ घर फर्किन्छन्। घर फर्किनुअघि दोकाने बढीको आलुदम किने दुइ-दुइ रुपियाँको। सिन्काले घोंच्दै आलु मुखमा हाल्दा-नहाल्दै दुवै पीरोले स्वाँस्वाँ गर्न थाल्छन्। घर जाँदा आउने लामो उकालो बाटोजस्तै उनीहरूलाई पीरो पच्न थालेको छ, जाडो पच्न थालेको छ, जङ्गली बाटोको ठेस पच्न थालेको छ। अनि, कहिलेकाहीँ ठीकलाई ठीक हो, कहिले चाहिँ बेठीकलाई ठीक हो भनेर लदाइएका तीता र चाम्रा कुराहरू पनि।

रवि- अन्त तँलाई थाहा छ, लक्ष्य भनेको के हो?
वीर- अँ थाहा छ।
रवि- लु भन् त के हो लक्ष्य भनेको?
वीर- जहाँ पुग्नु छ, त्यो लक्ष्य हो।
रवि- हामी जीवनमा जे हुनु चाहन्छौं, त्यो पनि लक्ष्य नै त हो।
... ... ...
हिँडिरहेका दुवै एकछिन चुपो लाग्छन्। एकार्कालाई हेर्छन् र मौनताको क्षणिक आपसी सहमतिपछि फेरि उनीरूले सुनेर, सुनाइएर, थोपिएर सङ्कलन गरेका सूचनाहरू ठोक्किन थाल्छन् प्राय: भइरहने सडक दुर्घटनाहरूझैं। अस्ति बुधवारको दिन मूल सडकमै एउटी मैली केटीलाई एउटा ट्रकले कुल्चिएर मारेको हो। त्यो केटीको सनाखत हुन नसकेकोले केही युवकहरूले पैसा उठाएर त्यसको लाश पोल्ने व्यवस्था गरिदिएका थिए।

अहिले आलुदम सकिसकेको छ। उनीहरूको स्वाँ-स्वाँ पनि। तर सकिएको छैन उनीरूको बाटो। अझ एक थुम्का नाकै छुने ठाडो चढिसकेर अहिलेसम्म जति हिँडेका छन् झण्डै त्यसभन्दा अढाइ गुणाजति तेर्सो र त्यसपछि फेरि केही उकालो काटेर मात्र उनीहरू घर पुग्छन्। घर पुग्दा रिमरिम साँझ त भइसकेको हुन्छ सधैं।

रवि- थाहा छ हाम्रो बाबा जब बेलाबेला घर आउऩुहुन्छ नि, त्यसबेला भन्नुहुन्छ, राम्रो मान्छे हुने लक्ष्य राख् है। सरले अघि क्लासमा... डक्टर-इञ्जिनियर पो हुनु भन्नुहुँदैथियो त। अब यै बुझ्दिनँ कि राम्रो मान्छे हुनु कि डक्टर-इञ्जिनियर हुनु? लु भन् त...
वीर- दुवै नहुनु।
रवि- मतलब?
वीर- हाम्रो घरछेउको सागरदा क्या त...
रवि- अँ, सागरदा... दिल्लीमा कल सेण्टर कि कुन्नि के भन्ने काम गर्ने दाजू हैन?
वीर- सागरदाले अस्ति तिहारमा भन्नुहुँदैथ्यो हामीले भक्कु पैसा कमाउनुपर्छ अरे।
रवि- उसो भए लक्ष्य पनि किसिमकिसिमको हुँदो रैछ हगि?
वीर- सबै एउटै हो मान्छे, पैसा कमाउनु र ठूलो मान्छे हुनु एउटै त हो नि।
रवि- ठूलो मान्छे अर्कै हुन्छ, राम्रो मान्छे अर्कै।
वीर- एउटै हो एउटै।

अहिले उनीहरू हिँड्दैछन् मान्छेले हिँडेर खुट्टाको छापले बनिएको रूखहरूबीचको बाटो भएर। भर्खरै मात्र बजारबाट आएर टुङ्गिएको खाल्डैखाल्डा भएको बजारे बाटो छाडेको। रविले मनमनै वीरको कुरा मानिलियो -उसोभए त्यो दुब्ले बाटो बनाएर मोटो पैसा कमाउने नेता मान्छेहरू, इञ्जिनियर मान्छेहरू, ठिकादार मान्छेहरू ठूलो पनि, राम्रो पनि। कति राम्रो। एकैसाथ पैसा, ठूलो र राम्रो। फेरि एकछिनमै तर मनमनै खण्डन पनि गरिहाल्यो र कुन्नि के सम्झिपठाएको अनुहार पारेर मनमनै भन्यो- सबै ठूलो राम्रो हुन्छ र? तेरै ठूलो सुकुटे दाजु हामीभन्दा ठूलो हो। तर ड्रग्स खान्छ अरे। उसलाई राम्रो कसैले भन्दैन त। कुन दिन मर्छ साला बजिया भन्छन् मान्छेहरू।

केही नबोलिएर उकालो चढ्दाको दुवैको स्याँस्याँ आवाजबाट वीरले रविको असहमतिको लख काटिहाल्यो र भनि पनि हाल्यो मनबाहिर रविले सोधिनहालेको प्रश्नको उत्तर-
उसो भने ठूलो मान्छे हुनु, राम्रो मान्छे हुनु र डक्टर-इञ्जिनियर हुनु बेग्ला-बेग्लै लक्ष्य हुन् भन्ने मान्छु, तर पैसा कमाउनु चैं यी लक्ष्यहरूको पनि लक्ष्य होला नि?
रवि – हुनु पनि पैसा कमाउनेले त पुरै इज्जत पाउँदो रैछ नि है?
वीर- हेर् न हाम्रो गाउँको बरूणदाजुहरूको कस्तो इज्जत. परइहरू रक्सी बेचेर गाडी किने. सबैले कति मान्छन् उनीहरूलाई।
रवि- हाम्रो बाबा पनि ठूला मान्छे हुन् भन्छन् अरूहरूले, तर पैसा छैन त मेरा बाबासित।
... ... ...

उनीहरूको टुङ्गो नलागेको कुराझैं टुङ्गो नलागेको उनीहरूको रोडे बाटोले उनीहरूलाई घर पुऱ्याउन आज पनि ढीलै गरेको छ। समसाँझ सधैं घर पुगिसकेपछि उनीहरू दुवै नबिसाई घरले दिएको घरका काम गर्छन्। कुखुरा थुन्नु, आँगनबाट भान्साघरको भारमा दाउरा ओसार्नु, धाराबाट गागरीमा पानी ल्याउनु... रातिको खाना खाइसकेर स्कूलले दिएको घरको काम गर्दागर्दै चीलले चिङ्ना झम्टेझैं निद्राले उनीहरूको निर्दोष अस्तित्वलाई गाँजिहाल्छ। सखारै आँखा माड्दै घाँस काट्न जाँदा रवि र वीरको दिनको पहिलो भेट हुने गर्छ।

कुहिरोले डम्म ढाकिएको वल्लो पाखाको कुइनेटो नाघेर रवि-वीर अहिले पल्लो पाखाको कुहिरोभित्र बिलिए। अघिसम्म गाउँको टुप्पोभरि फिलफिलिरहेका टाटेपाङ्रे राजनैतिक झण्डाहरू पनि अहिले धुम्मले धमिल्याएको छ। एउटा थुम्काबाट अर्को, अर्कोबाट अझ अर्को गर्दै गोधुलि साँझ सर्दै-सर्दै आइरहेको छ। बिस्तारै।