तिमी निको हुनू
बिहान तङ्ग्रिएको घाइते पन्छीजस्तै
तिमी निको हुनू
धेरै दिनपछि याद आएको गीतझैं
तिमी निको हुनू
गइसकेका मजदुर साथीको शरीरको गन्धझैं
तिमी निको हुनू
झरीपछिको छर्लङ्ग आकाशझैं
तिमी निको हुनू
शरीरमा
शरीरमा
र
विचारमा
तिमी निको हुनू
बिहान तङ्ग्रिएको घाइते पन्छीजस्तै
तिमी निको हुनू
शहीदको मृत्युपछि ठिङ्ग उभिएको विचारझैं
तिमी निको हुनू
रोइसकेपछिको सफा आँखाजस्तै
तिमी निको हुनू
श्रम गरिसकेपछि बगेको पसिनाझैं
तिमी निको हुनू
भाषामा
र
व्यवहारमा
निको भएर फेरिनू
फेरिएर तिमी
नयाँ हुनू
नयाँ भएर पनि
त्यही हुनू
जो तिमी थियौ
जो तिमी हौ
जो तिमी हुनुपर्नेछ...
जहाँबाट जसरी जुन बेलामा तिमी
जे हुनुको सङ्घर्षमा बिरामी भयौ
त्यही हुनू
त्यहीँ हुनु तिमी
एकान्त घुम्तीमा
पर्खिरहेको त्यो रूखझैं