Sunday, November 21, 2010

प्रश्न अनप्लग्ड

ओइ, प्रश्नको मासु कोट्याउँदै यसरी
के खोज्छस् हँ?

समाधानको कोख?
उत्तरको आँखा?
गद्दारको बुलेट?
भन् त... के खोज्दैछस्?

प्रश्नको कङ्काल देखेर नतर्सी यसरी
प्रश्नको छाला काड़्ने त तैं होस् नि

प्रश्न र पनि बाँच्छ
अस्पष्टताको धुँवाबीच
अलगावको मौनताभित्र
अनिश्चितताको हुण्डरीमाझ

तेरै जीउमा समेत
प्रश्नको गाढ़े घाउ छ

कोट्टाइदे त्यसलाई
निकाल् पीप

दुर्बल नठान् प्रश्नलाई

कि प्रश्नमा सिङ्गै इतिहास पल्टाउने ताकत छ
कि प्रश्नमा सिङ्गै सभ्यता डुबाउने तरान छ
कि प्रश्नमा सिङ्गै साम्राज्य ढाल्ने ऊर्जा छ

कसले रेक्न सकेको छ र
प्रश्नको विस्फोट शृङ्खला
जब प्रश्नले सुन्नथाल्छ
देख्नथालछ
र
बोल्नथाल्छ?

के तैंले नफर्किने अठोट गरिसकिस्?
तेरो तँ तैंसँग छ कि बन्धकी छ?
तँलाई अचेल बाड़ुली लागिबस्छ रे?
तैंले पनि बोल्नुपर्दा चुपो लाग्नु सिकिस्?
आखिर तँ उताको कि यताको?
फसेला गरिस्?

साला...आफैले आफैलाई खान्छस्
क्यानिबल...
ओइ, चिनिस् मलाई? 

ओइ, प्रश्नको मासु कोट्याउँदै यसरी
के खोज्छस् हँ?