Tuesday, November 16, 2010

कालजयी

अघि-अघि चुपो लागेर जून हिँड़्दैथियो

जब म सुस्तरी बात मार्दै हिँड़्दैथिएँ

एउटा शीतको थोपासँग

जो मसँग बात मारिसक्दा नसक्दै शहीद भयो

 

म एउटा शीतको थोपासँग

सुस्तरी बात मार्दैथिएँ

म त ऐले पनि जिउनुको तिर्खामा

मृत्युको सुइसुइला मार्दैथिएँ

 

अघि-अघि चुपो लागेर हिँड़्दैछ जून

पछि-पछि म हिँड़्दैछु विचारजस्तै एउटा छायाँ

टेक्दै यथार्थको धरातल


मैले जब त्यो शीतले गाएका सरल गीतहरू
बिहान झर्ने ताराहरूको झुण्ड 
र बाँगिएको हाँगामा बसेको एउटा चराले गाएको सुनें

तब थाहा पाएँ  

त्यो शीत त विचार थिएछ

त्यो शीत त सङ्घर्ष थिएछ

 

मसँग बात मारिसक्दा नसक्दै

त्यो शीत शहीद भयो

 

समयको बन्दी छु म चाहिँ अझ

त्यो शीत शहीद भयो

त्यो शीत कालजयी भयो