Monday, September 17, 2012

सात हजार सात सय सतहत्तर वर्ष


सात हजार सात सय सतहत्तर वर्षअघि
कहाँ उसलाई हेर्दै थिए
आँखाहरूले त आफैलाई पो देख्न थाले

-----
विश्वास गर्नोस् हेर्दा-हेर्दै त्यसपछि ता
धमिराहरू सगबगाउन थाले
रूखजस्तै झ्याम्म परेका ती आँखाहरूभरि

सात हजार सात सय सतहत्तर वर्ष ती आँखाहरूमा ता
धमिराहरूको संसारै बस्यो

जब रित्तिए आँखा
बाँझो भूमिजस्तै भएर
मेनोपज स्त्रीजस्तै ती आँखाहरू बोल्नै छाड़े
विषादग्रस्त भए

सात हजार सात सय सतहत्तर वर्षपछि
उता धमिराहरू चाहिँ अरू आँखाहरूको खोजीमा
निस्केर सलङलङ गइरहेको दृश्य
नयाँ बीऊको क्यामेरामा कैद गर्दैथियो
इतिहासमा सधैँ हार खाने किसानको
सबैभन्दा कान्छो छोराले

-----
अचेल आँखाहरूको अँध्यारो खोपिल्टाबाट
कसैको मन्द आवाज आइबस्छ
पत्यार गर्नोस्- त्यो आवाज सुनिन्छ मात्रै, बुझिँदैन

त्यो अन्जान आवाजलाई बुझ्ने निष्फल प्रयासमा
सड़क किनाराका आँखाहरूलाई हेर्दा-हेर्दै
यत्तिखेर सड़कै-सड़क एउटा लश्कर आइरहेको छ

सात हजार सात सय सतहत्तर वर्षपछि
बल्ल स्कूल जानथालेको काले भन्छ-
त्यो कि जुलूस हुनुपर्छ कि मलामी

काले अझै भन्छ-
जुलूस हो भने त्यो जुलूसको झण्डा कुन रंगको हो त्यो थाहा हुने छैन
मलामी हो भने त्यो मलामीले कसको लाश बोकेको छ त्यो थाहा हुने छैन
-----
कहाँ उसलाई हेर्दै थिए
आँखाहरूले त आफैलाई पो देख्न थाले
सात हजार सात सय सतहत्तर वर्षमा