भन्छन्, एउटा भाषा बराबर
एउटा जीवन
संसारमा सबै थोक आफैमा एउटा-एउटा भाषा
भाषाको अनुवाद कति साह्रो
प्रेमले भोग र त्यागको कथा भन्छ
प्रेम आफै एउटा भाषा
आँसुले गुमनामहरूको गीत गाउँछ
आँसु आफै एउटा भाषा
घाउले पीड़ाको खबर भन्छ
घाउ आफै एउटा भाषा
रगतले प्रतिशोधको बयान दिन्छ
रगत आफै एउटा भाषा
म कवि
प्रेम, आँसु, घाउ, रगत
अझ कति हो कति भाषालाई उल्था गर्छु, गरिबस्छु
तर हरेक अपुताली भाषाको मृत्युपछि मात्र थाहा हुन्छ
मेरा शब्दहरू त अन्धा र गुँगा थिएछन्
र पनि कति निर्लज्ज म, हेर्नोस् त
मेरा निष्फल कोशिशहरूलाई
कविताको नाम दिएर
सधैँ तपाईँहरू सामु यस्तरी उभिन्छु
मानौं, मेरो हातमा कुनै भाषाको बीउ छ