एकाबिहानै झुल्किएको निश्छल घामजस्तै
कति निर्दोष हुन्छ गद्दारको अनुहार
गद्दारको झण्डा सेतो छ
त्यस झण्डामा दागहरू छन्
त्यस झण्डामा प्वालहरू छन्
इ हेर त...
गद्दारको गद्दारी
लतपत छ सस्तो शहीदको फिका रगतले
गद्दारको जात, जाति, गोष्ठी, धर्म छैन
किनभने गद्दारलाई गणतन्त्र मनपर्छ
गद्दार बस गद्दार
त्यसैले गणतन्त्र, शान्ति र प्रेमका कुरा गर्नेहरूसँग जोगिनू
चिसो हावाले बदनाम सुइसुइला लगाइबस्ने छाड़ा डाँड़ामा
रङ्गाइएको छ सपनाका रङहरूले
मुक्तिको मृत सालिक
जसको खुट्टामुनि घर छ एडिक्टहरूको
एकसाथ बास बस्छन् गद्दारको संसारमा
किरानीदेखि अधिकारीहरू
धुपौरेदेखि नेताहरू
हिजड़ादेखि मरद र आइमाइमान्छेहरू
भलाद्मीदेखि वेश्या र दलालहरू
सबै गद्दारीको उसुल जान्दछन्
गद्दारी अरूसँग गर्नू
आफूसँग होइन
आफूसँग जसले जुन दिन गद्दारी गर्यो
ऊ गद्दारहरूको दुनियाँमा रहनलायक रहँदैन
शुरु भइ त हाल्छ
उसको काउण्टडाउन
एउटा मुश्किल के पनि छ भने
गद्दारलाई गद्दारजस्तो देखिँदैन
गद्दारको हड्डीमा, मासुमा, छालामा
कतै कहीँ त गद्दार लेखिएको हुँदैन
गद्दारलाई चिन्नु
समयको ऐना चाहिन्छ
गद्दार
मात्र मान्छे होइन
विचार पनि हो
होशियार
यो कविता पढ़्दापढ़्दै
एउटा गद्दार नियत
लुक्नखोजिरहेको हुनसक्छ तपाईँभित्र
वा मभित्र