Monday, October 27, 2008

हाइकु

हाइकु

1
यी ताराहरू
नयै किन लागेका
प्रत्येकपल्ट



2
हारिदिन्छु म
तिमीलाई उपहार
-जित्नू तिमीले

3
बर्खाको बेला
मन पर्छ सुनिबस्नु
बर्खाकै बोली

4
तिम्रो गीत सुन्दा
त्यो अबोला रूखलाई पो
सुनेझैं लाग्छ

5
कोठामा राति
जिगज्याग बाटो कोर्दै
-जुनकिरीहरू

6
नबोल्नू कोही
जब बोल्छ मौनता
-नि:शब्द सुन्नू




7
शून्य आकाश
फुर्र उडिगयो चरा
-आशा उडेन

8
आँखाको हाँसो
तल ओठको आँसु
-झगडा शुरू

9
धेरै टाढो पो
पुगिसकेको रैछु:
फर्कुँ-नफर्कुँ

10
तिमीले बोल्नू
चुपचाप सुन्नेछु म
मेरो आवाज

11
कहाँ सुहाउँछ
भूल बिनाको मान्छे
-अचम्भ लाग्दो

12
सकिँदै जाने
मैनलाई देखेपछि
सम्झेछु उमेर

13
अघि बिहान
झल्याँस्स सम्झिएको
हाइकु बिर्सिएँ

14
पुराना मान्छे
पुराना ब्याट्रीझैं
-पर्खिरहेका

15
धुल्याम्य ऐना-
अघिल्तिर उभिन्छु
धूलोसरि नै


16
राख्दैन रोकी
पानीका थोपा पातले
टप टप ट




17
पेण्टिङ्गका शब्द
कान थापेर सुन्दा
आफ्नै स्वर खै

18
घर मात्र त
सोहोरेन पैह्रोले
ती मन पनि

19
धूवाँ-धूवाँ छ
को हो टाढो उभेर
कुन्नि के भन्ने

20
चिया दोकान-
चिया पिउँदै सोच्छु
के को तिर्खा यो

21
डुब्दा डुब्दै
आकाशगङ्गाभित्र
डस्छ संसार

सम्झिनू

तिमी मलाई सम्झिनू

घुम्तीमा
साँझ 5 बजी
अल्पिसकेको गाडीको
धूवाँ मात्र देखेर
तिमी छोडिएको मेरो मन हेर्नू

भीडमा
एक्लै हिँडिरहेको
अनाम मान्छे देख्दा
तिमी मलाई डाक्नू

चौकमा
बूढो एकतारे बजाउँदै
गाइरहेको गाइनेको स्वरमा
तिमी मलाई सुन्नू

साँझमा
लुँगिएको बाँसको टुप्पो टेकेर
दार्शनिकझैं बसेको चराको आकृतिमा
तिमी मलाई हत्तपत्त समात्नू

स्ट्याण्डमा
निकै समयसम्म उभिएकी
युवतीका बेचैन आँखाभित्र
तिमी मेरो शान्त उपस्थिति भेट्नू

सडकमा
जुलूस हिँड्ने
थकित श्रमिकको जोशमा
तिमी मेरो आशाको परीक्षा लिनू

स्कूलमा
एउटै विषय पढाएर पनि
हरेक दिन नयाँ रहिरहने
पुराना गुरुबाको जाँगरमा
तिमी मेरो चेष्टा तौलिनू

नदीमा
बल्छी हालेर
किनारमा बस्ने
शान्त केटाको चञ्चल चित्तमा
तिमी मेरो स्थैर्य जाँच्नू




कुइनेटोमा
भारी बिसाएर
बिँडी पिउँदै उकालो हेरिपठाउने
बूढा बाको लामो खुइइइय्यमा
तिमी मेरो घाउ चिहाउनू

ताप्केमा
सेलिएको चिया घरिघरि तताउँदै
ग्राहक रुङेर उङिरहेकी
दोकाने दिदीको सुस्केरामा
तिमी मेरो पीडा छाम्नू

फाइलमा
एकगुच्छ सीभी बोकेर
नोकरी खोज्ने युवकको
अँध्यारो निधारमा
तिमी मेरो अनगन्ती कुण्ठा गन्नू

ताकमा
किताब पसलको
कसैद्वारा नकिनिएको
धूल्याम्मे कविताको किताबमा
तिमी मेरा लबजहरू सुमसुम्याउनू

डाँडामा
अस्ताउनै लागेको घामले
पोखाएको रगतको आँशुलाई
तिमी मेरो आगमनको सम्चार सोध्नू

गिटारमा
तारसँगै बजिरहेका
बेतार धुनहरू सुनेपछि
तिमी मेरो सपनालाई निम्तो दिनू

जूनमा
सबैले युगौंयुग देख्दैआएको
त्यही बदनाम कलङ्क हेर्दैपछि
तिमी मेरो नराम्रो ‘म’ याद गर्नू

ऐनामा
बिहानीपख अनुहार हेर्दा
आँखाद्वारा देखिएका आँखाभित्र
तिमी मेरो टुलुटुलु हेर्ने पर्खाइलाई हेर्नू

इतिहास


इतिहास-1





तेरो डालामा बसेर
गीत गाउँदै
गुँड बनाउँछ जब कुनै रङ्गीन चरा

हाँगाबिगामा तेरो
पाकेर झोल्लिएका फलहरू
हल्लिन्छन् मुस्कुराएर

उत्तरी आकाशको सीसारङ्गे बादल
जब छ्याप्दै छ्याप्दै आउँछ झरी
तँ अर्कोतिर टाउको फर्काएर
कसलाई सम्झिएर रोएको?

दश औंलीले समयको भुइँ खनेर
जोहरूले तेरो बीऊ लगाए
माटो सिँचे आफ्ना पसीनाले
मल हाले आफ्नै खूनको
तँ उनीहरूकै रूख हो
बढिरहने सदा
अरूअरूले नदेखेको, नलेखेको र नसिँचेको

तँलाई पानी नदिएर सुकाउने योजनाहरू
उहिल्यै पनि, अहिल्ये पनि

नमरी तेरो मृत्युको घोषणा समेत भइसेकेको छ

तेरो घेवामा
संसारभरिका शिकारीहरूले
मान्छेको भुटुवा मासुसँग दामी रक्सी पिए

समयको भुइँ खन्नेहरू
आज पनि
तँलाई स्याहारेर बसेका छन्

तँ ज्यूँदै छस्
त्यैहरूको श्वासले

अनप्लग्ड कविता

अनप्लग्ड कविता

ऐनाजस्तै फुट्छ छर्ल्यामछुर्लुम कुन्नि के पल्लो कोठामा। पल्लो कोठाको पल्लो भित्ताको पल्लो भुइँमा।

चुइँगमझैं चपाउँदै बितछन्-दिनहरू, सालहरू र पञ्चवर्षीय योजनाहरू। इतिहासको भर्खरैको झरीले चुटेपछि यहाँ छौं हामी एउटा इतिहासको पैह्रोग्रस्त नाङ्गोझार एउटा लुक्ने डिलमा। खण्डित विखण्डित समयका चोक्टाहरूको फ्युजन।

हामी क्षणभङ्गुर।

Friday, October 24, 2008

परदेसबाट

परदेसबाट





गए उनीहरू

जाँदैछन्

जाँदै छन्

जाँदै छ न्

जाँ दै छ न्

जाँ
दै

न्

उनीहरू मदनहरू
उनीहरू मुनाहरू

चिट्ठी आँउछ
इ-मेल आँउछ
कोसेली आँउछ
फोटो आँउछ
परदेसबाट

आँउदैनन्
मात्र मदनमुनाहरू

हाइवे

हाइवे

त्यसको
रङ्ग उडेको भेस्ट
र उध्रिएको जिन्स
- टुहुरो अध्याय
एउटा मरञ्च्याँसे इतिहासको।

अट्टेरी निद्राहरूको शृङ्खलाबद्ध हत्या गर्दै
मध्यरातमा डिजेलको ज्यूँदो गन्ध
छरिदिन्छ त्यसले हाइवेको हावामा।

कसैले ह्वाल ह्वाल छाद्दै जान्छ
शैतान धुवाँका वृत्तहरू। शून्यहरू।

चढाइ बढ्दै गएको
जिगज्याग हाइवे हेरिबस्नु पर्ने
त्यसको एकोहोरिएका आँखाभित्र
थेत्तर सपनाको धमिलो हावामहल।
हावामहल- भोलि त दिउँसोको खाना सिङ्क्लेयर्समा।
हावामहल- अर्को वर्ष चैं भगाउँ भनेको।
हावामहल- त्यसको अर्को वर्ष चैं आफ्नै एउटा टभेरा हुन्छ।

हेर्दै

हेर्दै

बेग्लै देखिनखोज्नु
र बेग्लै देखिनु
बेग्लाबेग्लै कुरा हुन्

पुरानो भएर पनि
पुरानो नभएको यहाँको मौसम हेर त
सयपत्री, सेलरोटी र गोपाल योञ्जनहरूलाई हेर

चियापत्ती टिपेर फतक्क गलेपछि
घर फर्किँदा
बाटोभरि पोखिएका मुस्कान हेर

मोबाइलको रिङटोन बज्दा
सुनेर पनि त देखिँदैन

उन्साठ वर्षे तन्नेरी ड्राइभर दाज्यूको टेसिलो गफ हेर

र हेर
समय खाएका मान्छेझैं
यहाँका पुराना
भित्ता, बाटघाटा, चउर, चियादोकान र झोडाहरू

नयाँ गर्लफ्रेण्ड पछिल्लो भागमा राखेर
हाइवे पच्पनमा कुदिरहेको छ उसको नयाँ बाइक

हेर त
देख्यौ
समय बोलेको
सरल दृश्यहरूमा

पुरानोले होइन
पुरानोहरूलाई
नयैँ आँखाले हेरेर त हो
नयाँ आफूलाई खोजिभेट्टाइएको
पुरानो त आँखा हुन्छ
चीज होइन

खिरकी

रेलको खिरकी

रेलको खिरकी
घरको खिकीझैं हुँदैन

घरको खिरकीभित्र
घर हुन्छ

रेलको खिरकीभित्र
हुन्छ घरसँग मिल्दोजुल्दो
चल्दो घर

रेलको खिरकीभित्रबाट
हल्लिरहेका हातहरू

चिहाइरहेका अनुहारहरू
हुन्छन् कुनै आँसुको निम्ति
कुनै हिक्काको निम्ति

सत्य त केवल
बिदाइ यहाँ

अचेल उ मौनतालाई खूब सुन्छ

उसलाई फूलहरू सम्झिन मन लाग्दैन। विरक्त छ आफैदेखि।

दैनिकी च्यातिदिन न लाग्छ। बानीहरूको रूटिन फाल्दा फाल्दै उसलाई रूटिनको बानी बसिसकेको छ। यसैले उसको गज्याङगुजुङ बचाइ आफै एउटा दैनिकी।

हुनु-को जिग्स पज्जलका टुक्राहरू मिलाउन नसकेकोमा हैरान छ उ अचेल। अँध्यारो कुनामा बसेर उ गिटारका कर्डहरू कस्छ। स्केल मिलाउँछ। तर मिल्दैन थुप्रै कुरा गिटारबाहिरको खरो संसारमा। कुकुरलाई माया गर्छ उ।

धुनहरू छन्- तर कुनै बजाउनु न छैन।
भोक छ- खानु मन छैन।
निद्रा लाग्छ, निदाउनु मन छैन।

उसलाई न केही सोध्न, न त केही भन्नु मन छ। न त्यहीँ बसिरहनु नै मन छ।

दिनभरि रातभरि अचेल उ मौनतालाई खूब सुन्छ।

उ फर्कला के त?

उपभोगको कल सेण्टरबाट बोलिरहेका छन् बिरालोहरू। जटिल संसारमा सरलताको खूब स्वाङ्ग रचिन्छ। डब्ल्यूडब्ल्यूडब्ल्यू डट अन्योलता डट कम... सूचनाहरूको अराजक विस्फोटको हल्ला-सङ्गीत सुनेर बढ्दैछ गर्भको भ्रूण।

य़न्त्रको कायान्तर भोग्दै मान्छेलाई लागिरहन्छ कि अति भौतिकता र अति यथार्थ ठीक छैनन्। भन्नु गाह्रो छ - उ फेरि फर्कला के त?

अहिले उसलाई कस्तो लाग्दै होला

अहिले
उ के गर्दै होला

एक्लै चुपचाप बसिरहेको होला
कुनामा चिट्ठी लेख्दै होला
ओछ्यानमा ढल्किएर केके केके गम्दै होला
हिन्दीमा गफ हाँक्दै होला
हतारहतार बूट कस्दै होला
ब्याग भिर्दै होला
पानी खोज्दै होला
बन्दुक झिक्दै होला
पोजिशन लिँदै होला
घर सम्झँदै होला
साथीहरू सोच्दै होला
जङ्गल पस्दै होला
प्रेयसीका आँखा सम्झँदै होला

साँच्चै
अहिले
उसलाई कस्तो लाग्दै होला

आँखामा

आकाश छैन आँखामा

जून छ
आकाश छैन आँखामा

आकाश खोज्दैछन्
आँखाहरू

कहाँ छ खै
कहाँ छ त आकाश

आकाश
जूनसरिको
आँखाभरिको
कहाँ छ
कहाँ

जून छ
आकाश छैन आँखामा

वृत्तकहरू

वृत्तकहरू

1
ईश्वरझैं
पुजिन थालेछौ भने
मर्दैनौ पनि होला

बाँच्नेछौ तिमी
लामो र चिसो मृत्यु
ईश्वरझैं

2
अझै थपिन्छ
कोठामा चकमन्नता

रातमा गह्रुँगोपन

तिमीले बल गरेर खोक्दा
मनमा पीर
थपिन्छ अझै

3
यहाँबाट
नअग्लिनू ए इच्छा

अब अग्लिन्छु म
यहाँबाट

4
फूल त
फेरि फुलेछ
झरेर पनि
फेरि फुलेछ
फूल त

5
पातमा शीत
जसरी
धर्तीमा
हामी
शीत पातमा

6
सकिएपछि
शब्द
सुन्नू आफैलाई
शब्द
सकिएपछि

7
अलिकति आकाश
सबैको हुन्छ
अलिकति अम्मलझैं
सबैको हुन्छ
आकाश अलिकति

8
अन्यमनस्क तिमी
त्यो रूखझैं
न केही भन्छौ
न केही सुन्छौ
न जान्छौ कतै
त्यो रूखझैं
तिमी अन्यमनस्क

9
गाइनेको गीत
गुञ्जिरह्यो
भिरले छेलिएर पनि

कानमा गुञ्जियो
गुञ्जिबस्यो
गीत गाइनेको

10
जाँदाजाँदै
सोचें
-फर्कनुछ

गएपछि
फर्कनुसकिएला के
सोचें
जाँदाजाँदै

11
कतै पनि
जन्मिनसक्छ लहर

पुग्नसक्छ त्यो
कतै पनि

12
यो अनुहारभरि
पैंतालाका डोबहरू छन्

यत्रो यात्रा कसको यसरी
अनुहारभरि यो

13
मेरो गीत
गाऊ-नगाऊ
गाउनेछ तिमीलाई नै
मेरो गीत

14
हतारहतार
जीवन सडकझैं लम्पासार
सडकमाथि गाडीझैं
गाडीझैं कुद्छ जीवाइँ
हतारहतार

15
भिजेको परेलीबाट
नहेर्नू त त्यसरी

थाहै भएन
अचानक हेराइ पनि
परेलीबाट भिजेको

16
हेर्दैपछि
नयाँ अनुहार
पुरानै आकाशको
हेर्दैपछि

17
होइनहरू, होहरू
हो पनि, होइन पनि
मलाई विश्वास गर्नुहोस्
पुष्टिका लागि तर्क छैन कसैसँग
होइन पनि, हो पनि
होहरू, होइनहरू

18
हिँड्नेलाई
पर्वाह हुँदैन बस्नेहरूको

डर लाग्दैन ठेसहरूको
हिँड्नेलाई

19
उनको झूठ पनि
उनीजस्तै सज्जन देखिन्छ

उनीजस्तै बूढो भइसक्यो
उनको झूठ पनि

20
मेरो गीत
गाऊ-नगाऊ
तिमी पनि
मेरो गीत

21
बिहानले आङ तान्दै गर्दा
उघ्रिएछ आँखा

उनले त आङ तान्नै पाउँदिनन्
बिहानले आङ तान्दै गर्दा

22
बम
कविता हुँदैन

कविता कहिलेकाहीँ भइदिन्छ
बम

23
शून्य छु म अहिले
शून्य
शून्य
शून्य
पानी पर्दै गर्दा

आँखा भिज्दै गर्दा
शून्य
शून्य
शून्य
अहिले म छु शून्य

24
पानी नरोकुञ्जेल
ओत लागेर बस स्टपमा
गाइरहें उनको गीत मनमनै

मनमनै बात मारिरहें उनीसँग
ओत लागेर बस स्टपमा
पानी नरोकुञ्जेल

25
भनेपछि
अझ नबुझिने
बुझिने कुराहरू कुनैकुनै

सुनिने कुराहरू कतै केही
अझ नसुनिने
भनेपछि

26
छोई हेर न
अझ पनि यो
ढुकढुकिरहेको छ

जियालै हुन्छ है सपना त
एक्कैपल्ट
छोइ हेर न

27
यो गीत सुन्दा
कुनै भक्कानो बल्झिन्छ उनीभित्र

कुनै याद उभिदिन्छ उनीबाहिर
यो गीत सुन्दा

28
बाहिरबाट
जे देखिन्छ
त्यो छैन उस्तो भित्रबाट

भित्रबाट देखिएकोहरू
देखिँदैन ठ्याम्मै
बाहिरबाट

29
थाहा छ
मलाई नै
म छु कति पानीमा

कहाँनेर चुक्नु हुने थिएन
मलाई त्यो पनि राम्ररी नै
थाहा छ

30
नबोलेरै
उ कति बोल्छ

कति कति सुन्दो हो
नबोलेरै

31
किनारै किनार
कोही गयो पुल्ठो बालेर गुनगुनाउँदै

कोही सुकसुकाउँदै आएको थियो
किनारै किनार

32
ताराहरू त्यस रात
थिएनन् आकाशमा

सबै धर्तीमा झरेका थिए कि
ताराहरू त्यस रात

33
बुझ्नु छ
तपाईंलाई

तपाईं बुझ्दै
म आफैलाई
बुझ्नु छ

34
जनता न हो
थाहा पाउँछै पाउँछ
ढीलोछिटो

एक न एक दिन
पल्टाउँछै पल्टाउँछ
जनता न हो

35
बाटो त बल्ल शुरू
हिँड्न त निकै हिँडियो

यहीँनेर टुँगिएछ बाटो
बाटो त बल्ल शुरू

36
र पनि
सङ्कट कति बलियो

मान्छे बाँचिछाड्छ
र पनि

37
छटपटिरहेको छ
मान्छे
पानी बिनाको माछाझैं

हठात् पड्किनलाई
युग
छटपटिरहेको छ

38
उनीहरू ढाँट्दैछन्
अँध्यारोलाई उज्यालो भनेर

काँचुली फेर्नुलाई उनीहरू
नवजन्म भनेर
ढाँट्दैछन् उनीहरू

39
मन्त्री महोदय
तपाईं जेलाई शान्ति भन्नुहुँदैछ
त्यो त माचिसको सिन्का हो

तपाईंहरूको घरको चुह्ला जल्ने
यही माचिसको सिन्काले
तपाईंहरूको घर पनि जल्ला है
मन्त्री महोदय

40
अहिले
हिँड्न सिकौं न
हिँडौं त
लु हिँडी पनि हालौं

कुदिजान पछि सिकौं
उडिजान पनि पछि नै

हिँड्न सिकौं हिँड्न
अहिले

41
पर्ख न
पर्ख अरूलाई
पर्ख आफैलाई

मात्र पछि नफर्क
पर्ख न

42
कहाँ जाँदैछौ
निल्दै
निस्तो गाँसहरू

निस्तो पलहरू
छाद्दै
कहाँ जाँदैछौ

43
एउटा जुलूस छ यहाँ
स्मृतिको औंलीले
पोखरीको गाला छोएर
समयका लहरहरू
यहाँ छ जुलूस एउटा

44
कोहीहरूको ईशारामा
हावा चल्दैछ
पानी बग्दैछ
झण्डा फरफरिँदैछ
मान्छे बरबरिँदैछ
कोहीहरूको ईशारामा

45
दैलोहरू भएर
बाटोहरू भित्रिन्छन्
कहाँ-कहाँसम्म पुग्नलाई
यात्राहरू निस्किन्छन्
दैलोहरू भएर

46
जल्दैछ जुलुलु
घर, आकाश र नाम

बाँच्नलाई
मर्नुपर्छ चिह्नारीले
घरिघरि

चिह्नारी अहिले
जुलुलु जल्दैछ

47
पैह्रोको घाउ
मुसार्छ मात्र दार्जीलिङ
रूँदैन

घाउ भन्छ-
रुँदिनन् मेरी आमा

पाक्दैछ
घाउ पैह्रोको

48
पर्खिरहेको मान्छे
आफूले चाहिँ पर्खिएर
अरूलाई नपर्खने सल्लाह दिन्छ

पर्खिन नसकी अरूलाई
हुन्छ पर्खिरहेकै आफूलाई
पर्खिरहेको मान्छे

49
उसको आवाजभित्र
के को आकार त्यस्तो
कताकता संसारझैं
कसोकसो निस्सारझैं

कसोकसो विचारझैं
कताकता सरोकारझैं
के हो त्यो निराकार
उसको आवाजभित्र

50
छपलक्क
के खस्यो
पानीमा
यो निस्सार रात
भोगिबसेको बेला

रेटिँदै गरेको बेला
यो निर्विकार गीत
मनमा
के को आकार
छपलक्क

51
किताबभित्र
ओइलिएको फूलमात्र
जोडिन्छ स्मृतिमा

अलगावले ग्रस्त
लाखौंलाख शब्दहरू
किताबभित्र