Tuesday, November 18, 2008

ज्वरो

ज्वरो

सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भुइँमा
नत्र भने जिन्दगानी आगो लगाइदिन्छु
*

कसले सम्हालिदेला मखुण्डा
ईश्वरबल्लभले माया गरिराखेको दार्जीलिङको
जब ज्वरो आउनेछ हनहन दार्जीलिङलाई

यसपालि हिँउ पर्छ-पर्दैन
-कसले भन्न सकेको छ र
अहिले नै

विचारहरूको शृङ्खलाबद्ध विस्फोटपछि
शून्यवादीहरूको अराजक झुण्ड
डुल्न निस्किएको छ बजार

वर्षौं लामो जाडोमा ज्वरो त आउनेछ
तर यो ज्वरो
हुनेछ एउटा उत्तर-आधुनिक ज्वरो

ज्वरोको रापले
पग्लेर नाङ्गै भएको हुनेछ कञ्चनजङ्गा

नाङ्गै हिँड्नेछ कञ्चनजङ्गा
र चौरस्तामा आएर बस्नेछ भोक हडतालमा

पर्यटकहरूको ब्याग
कसले बोक्ला-
सोच्दैछ उदास भरिया
हडतालको बिहान

चराहरू अन्यत्रै बसाइँ सर्नेछन्
किनभने रूखहरू निदाउनेछन् निकै लामो

पाठशालाहरू स्टेट फोर्स-को घर बनिनेछन्

कसले टिप्ला त चियाका पत्तीहरू
किनभने लकआउट भएका कमानका तालाहरू
फेरिनेछन् बमहरूमा
र मुद्दा नपाएका एनजीओ र समाजसेवी समूहहरूले
फेरि एउटा अवसर पाउनेछन्

कुइनाइनको बोक्रा पिट्ने हातहरूलाई
फुर्सद हुँदैन
पोस्टर लेख्न र टाँस्नबाट

अबोला ढुङ्गाहरू
एकाएक आ-आफ्ना ठाउँबाट उठ्नेछन्
र नारा भट्टाउँदै गरेका हुनेछन्

बाटोछेउका मौन धुप्पीहरू
पिलिकपिलिक हेर्दै
जुलूसभित्र बिलाउनेछन्

कसले धोइदेला
रेस्तुराँका महङ्गो रक्सी र कफीका कपहरू-
वेटरहरू त गुप्ती यात्रामा छन्

ज्वरो आउँदा
सबै व्यस्त हुनेछन्
ज्वरोको जुलूसमा
ज्वरोको समारोहमा
ज्वरोको कार्निभलमा

ढोङ्गको साहित्य बालेर
आगो ताप्नेछन् नानीहरू
र इन्द्रबहादुर सर कोठामा कफी पिउँदै
ईश्वरको सम्झना गर्नेछन्

भद्रेको टोली-ले ज्वरोको नाटक देखाउनेछ
जब दार्जीलिङको विश्व विख्यात सौन्दर्य
गुफा पसिरहेको हुनेछ

बूढाहरू गाउनेछन् पीट सिगर र पल रब्सनका रौं ठाडा हुने गीतहरू
बिट पुस्ताको कविता भट्टाउनेछन् चेग्वेभाराको डाइरी पढेका युवकहरू
केटीहरू चाहिँ प्लाथ्, सिमन दी बूव र पारिजातका किताब पढ्नेछन्
तब
दार्जीलिङको नाप्पिएको ठिहीको सेखी झर्नेछ
ज्वरोको तापले

यही ज्वरोको आगोले
कण्ठस्थ गराउनेछ गिरीको युद्ध र योद्धा
कुइनेटो, चोक र मोडहरूलाई

चौरस्तामुनि साग बेच्ने बज्यै
गोप्य सभामा भाषण सुन्नेछिन्
जब
डम्बर चौकमा जलाइनेछ
अघिल्ला र भावी सम्झौताका प्रतिहरू

खरसाङको बजारभरि छपछप हिँड्नेछन्
परिवर्तनको आह्वान गर्दै
युक्तिवादी विद्यार्थीहरू
र गिद्धेको डाँडाबाट
कहिल्यै नाम नसुनिएको कविले
पटेकाजस्तै पड्काउनेछ कविताका शब्दहरू

जागित्रे भएर इबरा-को एमके
चोक बजारको जनसभाको भीडमा देखा पर्नेछ फेरि

पानी सुक्नेछ मिरिक झीलको
र मुरै खाएर बाँचेका माछाहरू
अज्ञात छापामार छाउनीहरूतिर लाग्नेछन्

घूमको रेल स्टेशनमा टोय ट्रेनभरि
थुनिनेछन् हावाहरू

आइहालेको छैन
आउन अझै कैयौं वर्ष लाग्ला

तर ज्वरो त पक्कै आउनेछ
प्यारासिटोमलले धरि नभ्याउने ज्वरो

ज्वरोसँगै उल्टी पनि हुनेछ दार्जीलिङलाई
शताब्दीभरि खाएको दालभात
र रक्सी
*ईश्वरबल्लभ

Saturday, November 1, 2008

मुक्तकहरू

मुक्तकहरू

1

यो अनुहारमा
अझ केही नमेटिने नामहरू छन्
पैंतालाका नचिनिने डामहरू छन्

यो अनुहारमा
अझ केही नझुल्केका घामहरू छन्

2

आफूलाई अलिकति कहीँ छाडिराख्नू
आफैलाई टाढोबाट पनि हेरिराख्नू
समयको रेखा मात्र सधैं सत्य हुँदैन
समयबाहिर पनि कहिलेकाहीँ हिँडिराख्नू

3

चोट लागे पनि फुल्ने फूल हुन्छ भन्छन्
केही गर्दा जान-अञ्जान भूल हुन्छ भन्छन्
पखेटामा विश्वासको प्वाँख खिलिदिनू
हारे पनि जुझ्न उठ्ने हुल हुन्छ भन्छन्

4

व्यथाको त बोल्ने आफ्नै ओठ हुन्छ है
सबको नाममा एउटा-एउटा चोट हुन्छ नै
पछि किन फर्किजानु मात्र एउटा घातमा
सुखको नाममा त दु:खको बोट हुन्छ नै

5

म केही व्यथा हुँ
केही आँसु त्यसैले मेरो

म केही रमिता हुँ
केही हाँसो त्यसैले तिम्रो

6

कहाँ रोइहिँड्छन् र व्यथा हुनेहरू
कहाँ भनिहँड्छन् र कथा हुनेहरू
बेलाबखत छचल्किन्छ मान्छेको मुटु
देवल तोड्न खोजिहिँड्छन् प्रथा हुनेहरू

7

मान्छेको मुस्कान अचेल फिक्का हुनेगर्छ
मान्छेको नाता अचेल सुक्खा हुनेगर्छ
मुहारभन्दा मखुण्डोले बढी साँचो बोल्छ
मान्छेको वचन अचेल बित्था हुनेगर्छ

8

जताततै बन्द छन् मनका घैलाहरू
सबैसित एक-एक एक्लोपनका घैलाहरू
चाहे कुइरो लागोस्, चाहे साँझ झरोस्
फर्किन जान्ने होइनन् परदेसीका पाइलाहरू

9

जित्दा-जित्दै हारिएको दाउजस्तै
घरि-घर बल्झिबस्ने घाउजस्तै
आफ्नो कथा आलो हुन्छ सधैं
रातभरि ब्युँझिरहने गाँउजस्तै

मानौं एक्स

मानौं एक्स

(क)

व्यस्त छन् लबजहरू एसएमएस र इ-मेलहरूमा। त्यसैले इतिहासका पन्नाहरू डल्लै रित्तो छन् अचेल।
बिरालोको सीङ उम्रिँदैन भन्थ्यो। उ क्या त ... उम्रिएछ त ल्याबमा। वर्षदिन भयो पासाङ सरकी छोरी हराएकी। कल सेण्टर काम पाएर गएकी। फर्किइन उ।
त्यो समय जो मृत्युलाई अट्टेरी गरिहिँड्थ्यो- मर्न लगायो अघि छ बजे साँझ त्यसले आफैलाई। नाङ्गै। आफ्नो हत्याको लाइभ दृश्य त्यसले देखायो अनलाइन भीडियो गफ गरिरहेकी रेखालाई।

(ख)

अन्तरेले पनि अस्ति बुधवार माबाइल किनेछ। चलाउनै जन्दैन रैछ तर। आह्रिस फुल्यो ढकमक्क यसपालि आँगनको बारीभरि। अर्कोपालि के फुल्ला कुन्नि?
शासकहरूको एटलसमा नछापिएको एउटा नयाँ देश नाजायज भ्रूणझैं बढ्दैछ उनीहरूको निषिद्ध राष्ट्रिय मुक्ति आन्दोलनको टेस्ट ट्युबभित्र। बजारमा तातो छ। हुँदैछ। भोलि हडताल। अर्को महीना प्रशासनसँग वार्ता।
खैनी माड्दै चिया कमानको पल्लो फेन्सिङभित्र उभिएर सडकको जुलूस हेर्दैछ नबोलिरहेको वर्ग सङ्घर्ष। टाढै बसेको (बसाइएको) छ उ। फर्किँदा इस्कुस कति केजी लैजानु- सोच्दैछ रमिता हेरिसकेर। रमिता छ आज।

(ग)

समात्दा-समात्दै चिप्लिएर भाग्यो विचार। कस्तो छाडा हौ, उ पर लडिरहेको रहेछ विज्ञापनको सडकमा। रगतसरि छ यथार्थ। पास्ट मोर्टम गरेको रिपोर्ट आयो अघिल्लो लडाईंको। ‘भोक”-को सट्टा ‘परिचय सङ्कट’ लेखेको थियो अरे त्यसमा।
पत्रकारहरू पकाउँदैछन् खबरको खिचडी।

(घ)

वैश्वीकरण, वैश्विक ऊष्णता र वैश्विक आर्थिक स्खलनसँगै बढ्दैछ जीवनको पारा।
केटाकेटीहरूमै केटाकेटीहरू के छिटो छिप्पिएका हगि? ठूलाहरूको भूलको भेउ चाँडै पाउनेगरी।
लेस्बियन आँशु र गे हाँसोले बिहे गर्ने भएका छन् ठिकादारहरूको न्यूड कलोनीमा।
पानी पर्दैरहेछ यहाँ त। भीड छ रक्सी दोकान। वेश्या लबजहरूलाई ढाँट्न लगाएर ढुक्क छन् अहिले वर्तमान र भावी शासकहरू।

(ङ)

बलियो छ व्यवस्था। पैसा र पावरले। खूब-खूब डराउँछ मान्छे बोलेछ भने तर। मनोरञ्जन, मीडिया छँदैछ। र पनि बुच्चिएन भने मुख - छँदैछ लट्ठी र बन्दुक। र पनि बन्द नभए आवाज – छँदैछ पैसा।
हिसाब मिल्यो? जा एक झमट डुलेर फ्रेश भएर आइज। अन्त पढ्नु बस्। अर्को च्याप्टरको हिसाब अलिक कडा छ। थालिदिइराख्छु – आफै गर्नू। ‘बी’ जनता, नेता ‘सी’। तेस्रो शीर्षविन्दु ‘ए’-को कोणिक मान खोज्नु छ। सिगरेट खाइस् कि क्या हो, बङबङ गनाउँदैछ त?
सुन्, मानौं एक्स। ...













...इन्काउण्टरमा ठहरै पारिएको फिलोसफीलाई हिजडाहरूले बोकेर लगेका छन् भर्खर चौरस्तातिर। देख्नु भएन होला तपाईंहरूले त!

बर्खा - जुलाई 2002

बर्खा - जुलाई 2002


1

सजल आँखा
सजल आकाश
सजल मन

ए पानी पो पर्नु थालेछ

2

योपालि
बर्खामा
म भिजेछु भने
तिमी छक्क नपर्नू

3

बाहिर पानी पर्दैछ

कसरी सकेको हँ बसिरहन
भित्रको भित्र
गन्ती गर्दै
थोपैपछि बित्ने
अदृश्य शताब्दीहरू

4

छाता नभएकाहरू
घर फर्किँदा
भिजेका हुन्छन्

उनीहरूसँगै भिजेको हुन्छ
हनीहरूका मन पनि

5

झररररर
पानी परेको सुनेपछि
बाहिर निस्कियो
भित्र पर्खिरहेको
पर्खाइ

6

धेरै सालपछि
पानी परेको देखेर
बहुलाएँ भने
नपठाउनू मलाई पागलखाना
नस्याहार्नू पनि
म बहुलालाई

7

खिरकीको काँचमा
टाँसियो
पानीको बाछिटा

मनको खिरकीमा
थुनिएको
आगोको लपेटाझैं

8

तप्प

एक थोपा समयले
केही त भन्यो
नबुझिएको भाषामा

9

होश गर
आज मौसम
ठीक छैन

होश गर
यस्तो मौसम
सधैं नदेख्लाऊ

10

सब थोक बगायो पानीले
घरबार, गाँउ, शहर
गाईवस्तु र मान्छेहरू

स्वात्तै बगायो पानीले
सडकछेउ ढुँगाझैं अड्किएको
समय पनि

11

छोई छाडें
अस्पृश्य समयलाई
जब छोयो मलाई
पानीले

12

जे-जे बगिजान आतुर थिए
पानीसँगै यसपालि

पानीको बग्नु देखेर
लट्टिएर बग्नै भुलिए

13

चित्त पनि
पानीजस्तै
बर्सिन्छ जब

सावधान बस्नू

14

तिमीले जोडिदिनू
अन्तिम पङ्क्ति
यही बर्खामा थालेको
मेरो अपूरो कवितामा

तिमी -31 जुलाई 2005

तिमी -31 जुलाई 2005

1
डर लाग्छ
तिम्रो मौनतादेखि

तिम्रो मौनता-
तलाउको फेदबाट शुरु भएर
ज्वालामुखीको मुखमा टुँगिन्छ

2
तिमी भन्छ्यौ
दूरीले अझ नजिक्याउँछ

म पनि जान्दछु त्यो
तर जङ्गली छ
मेरो मन त अझ
बुझ्दै-बुझ्दैन क्यै

3
तिमी जब बोल्छ्यौ
तिमीले नभनेका केही कुरा
चिहाउँछन् तिम्रो बोलीको पछिल्तिरबाट

तिमी जब चुपो लाग्छ्यौ
तिमीले भन्नुपर्ने केही कुरा
सलबलाउँछन् तिम्रा मौन हेराइभित्र

4

छु
एक्लो
रूख
बुझिने तिमी
र नबुझिने तिमी
ती दुइ पहाडबीच
ठिङ्ग उभिएर

5
एकछिन, केवल एकछिन
मलाई शाश्वत बन्नु देऊ
तर मलाई अमरत्वको
एकरसता मन पनि त पर्दैन

6
रोक त
तिम्रो हत्केलाले
समयलाई
रोक न

7
जतिचोटि तिमीलाई
छाडेर हिँडे
त्यतिचोटि
म हारें तिमी सामु
त्यतिचोटि
हुन्छु तिम्रै सामु

8
बर्खाको पानी
झमझम-झमझम
तिम्रो मुटुको वर्षा पनि
त्यस्तै हेरिरहुँ-हेरिरहुँ लाग्ने
भिजिरहुँ-भिजिरहुँ लाग्ने

9
मेरो छातीको खोपिल्टा भरेर
तिमी किन चुपचाप छ्यौ?

आँखा खोल
मुख खोल
खोल मन

मेरो छातीको खोपिल्टा पुरेर
तिमी चाहिँ किन हेरिबसेकी
त्यो रित्तो आकाश?

10
निद्राबाट ब्युँझिएपछि
तिमी मुस्कुराउनू
हिँडेर कतै पुगेपछि
तिमी मुस्कुराउनू
लडेर फेरि उठेपछि
तिमी मुस्कुराउनू
बोलेर-बोलेर थाकेपछि
तिमी मुस्कुराउनू
रोएर आँखा सुकेपछि
तिमी मुस्कुराउनू

तिम्रो मुस्कुराउनु
मेरो निम्ति
म बाँच्नु

11
जति म अघ आउँछु
त्यति तिमी पनि आउनू

जति म तिमीलाई चिन्न खोज्छु
उति तिमी पनि चिन्नू मलाई


12
हाम्रो बाटोमा पनि काँढा होला
हाम्रो हिँडाइको कुनै नाँउ नहोला

13
जति हेर्छु
उति चिन्छु तिमीलाई

जति हेरें
उति तिमी
अर्कै

चिहानहरू

चिहानहरू

उनीहरू
हरेकका खातिर
खनाइएको छ
एक-एकवटा चिहान

दोहोरिँदैछ
घामको किरण
बाँधेर मुट्ठीभित्र
नासिदिने कुत्सित मूर्खता

एक-एक जियाला बीउ हुन् उनीहरू
फेरि पनि
उनीहरूलाई गाडेर हेर्नू
एक-एकवटा रूखमा फेरिनेछन्
उनीहरू फेरि पनि

एक-एक रूखबाट
झर्नेछन्
अनगन्ती बीउ
टुसाउनलाई फेरि

स्वर उनीहरूको
त्यसै निल्न
कहाँ सक्छ र
मृत्युले

घले कान्छाको

घले कान्छाको

घले कान्छाको
खेत आफ्नो
गोरूसँगै जोतुञ्जेल
मेशिनजस्तै खटुञ्जेल

कमान आफ्नै
पत्ती टिपुञ्जेल
चाम्रा कुटुञ्जेल

घले कान्छाको
घर धरि आफ्नो नै
रातमा सुतुञ्जेल
खानपान गरूञ्जेल


घले कान्छाको
जीवन पनि आफ्नै
आफू जिम्लिँदै
सातो मालिकको फुकुञ्जेल

गजलहरू

गजलहरू

गोधूलीको साँझदेखि

गोधूलीको साँझदेखि पहर-पहर रोएको
बिहानसित मुस्कानको मीत लाउन देऊ

धेरै भयो अन्यायको अन्धकारमा बाँचेको
अब मलाई उज्यालोको हित पाउन देऊ

युग बित्यो मनभित्र खेती छ सपनाको
मुक्ति ल्याउने परीसित प्रीत लाउन देऊ

नरहुँला बिहानसम्म, युद्धमै छु बिहानको
अब मलाई बिहानको गीत गाउन देऊ

मनकै मात्र सुन्छौं हामी

मनकै मात्र सुन्छौं हामी, अरूको त बुद्धि चल्छ
तिम्रो शब्द चल्छ कतै, कतै चल्छ उसको गोली

चिसो-चिसो हावा चल्छ, जति-जति गहिरिन्छ रात
इतिहास जान्न हेर्नू तिमी आमाको पुरानो चोली

कोल्टे फेरिबस्छ बेला, हिँड्न गाह्रो समयसँग
तयार बसिसकेको हुन्छ पालो पर्खिने टोली

एउटै छानुमुनि पनि त बैरीले वास माग्छ
टाढाकै साथीलाई जोडिराख्ने गहिरो-गहिरो बोली

समयको चट्याङले हानेपछि

समयको चट्याङले हानेपछि के गर्न सकिन्छ
बाटो खोज्दै हिँड्ने कोशिश त गर्नै सकिन्छ

नसुनेको आहट सुनेपछि चुपचाप बस्ने को हुन्छ
एक-एक गर्दै बोल्ने-सुन्ने हाट भर्नै सकिन्छ

परिबन्दको बादलले ढाकिएछन् भने सपनाहरू यी
एउटै धोको मेट्ने रहरमा सँगै मर्न सकिन्छ

नाता पनि, नीति पनि काट्न कैंची चल्छ यहाँ
काइ जम्न थालेछ भने ठाउँ त सर्नै सकिन्छ

टुक्रै-टुक्रा जिउँछौं हामी, टुक्रैमा बुझ्छौं संसार
ठूलोभन्दा ठूलो सागर धरि पार तर्नै सकिन्छ

शैलुभाइ

जब-जब हुरी चल्छ भित्र कता-कता
पल्टाइदिऊँ कि संसार यो लाग्दैन र शैलुभाइ

आगोको फूल बोकी जुलूस हिँड्छ मान्छे
गजलको रापले हिउँ गालिदिनू शैलुभाइ

अन्योलताकै भुमरीमा डुबिसके कथाहरू
लबजको नाउ तार्दै आइपुग्नू शैलुभाइ

पानी परिसकेपछि छर्लङ्गिन्छ आकाश
उज्यालोको अमर गीत गाइदिनू शैलुभाइ

उइलेदेखि चुसिखानेहरूकै छ जमाना
यो जमानालाई चुनौती भइदिनू शैलुभाइ

भन्नुपर्ने कुरा जति सबै भनिराख्नू पर्ने
हाम्रो पनि रातबात बाँकी रह्यो शैलुभाइ
(प्रतिभावान गजलकार र गजल-चिन्तक शैलेन्द्र समदर्शीलाई समर्पित)

यहाँका बिहानहरू

यहाँका बिहानहरू यस्तै-यस्तै हुन्छन्
घाम लागे पनि घाम डुबेजस्तै हुन्छन्

मुस्कानको रमिता सधैं हेरिरहुँ लाग्छ
ओठछेउ तर विषका प्याला पनि हुन्छन्

सुसेली मार्दै जुनेली, तैरिन्छ मनको पोखरीमा
जूनको छायाँ चोरी लाने हात पनि हुन्छन्

मरूभूमि अनुहारभरि तूफान चल्छ मात्र नामको
निस्सासिँदै प्रश्न वर्षाउने जमात पनि हुन्छन्

म भूल छु वा

म भूल छु वा सही छु भनी
नतोक्नू कसै-कसैले नतोक्नू

प्रश्नहरू किन मैले गरें भनेर
नसोध्नू कसै-कसैले नसोध्नू

खोलाझैं म बग्छु कि भनेर
नरोक्नू कसो-कसैले नरोक्नू

यस्तै छ है

यस्तै छ है यो कथाको किनार रहेन
भीडभित्र नअल्पिने कुनै अनुहार रहेन

यो कहाँ आइपुग्यौं हामी हिँड्नुको नाममा
यहाँबाट फर्किजाने कसैको विचार रहेन

आफैसित अपरिचित यही परिचय सत्य
मौसमजस्तो मनमाथि कुनै पत्यार रहेन

कहिल्यै नआउने समयको प्रतीक्षा छ बरू
भूलको फूल फुल्न यहाँ कोही तयार रहेन

दोभान खोज्दै आउँदै छन् अचिनारू नदीहरू
संसार डल्लै अँटाउने मुटु अब उदार रहेन

आँखाको आकाशमा एकचोटि

आँखाको आकाशमा एकचोटि घाम झुल्केको हेर्नुछ
खोलिदेऊ गाँठो मनको बादल फाटेको हेर्नुछ

विवश बनायो समयले सञ्जोगको बहानामा
यसपालि त समय नै लाचार भएको हेर्नुछ

पैह्रो गएको सपनाको भीरमा बाटो हुन्छ-हुँदैन
त्यहीँनेर आउने पुस्ताले यात्रा थालेको हेर्नुछ

पोखियोस् छचल्किँदै उमेर, आभास रित्तो किन
केवल एउटै पलभित्र राजा, युग बितेको हेर्नुछ

भित्र-बाहिर जताततै

भित्र-बाहिर जताततै चल्मलाउँछन् घटना कति
थाहा पाएर पनि अञ्जान भएर बसेकी छु म

बुझ्न सक्नुको पनि सीमा हुने गर्दो रहेछ
आफ्नै क्षमताको परीक्षा लिन हिँडेकी छु म

चकमन्न यी रातहरूबाट आवाज पलाउन थाल्यो
पाउनु के - गुमाउनु के, मझधारमा खसेकी छु म

सास थुन्यो प्वाल बनाई आकाश हेर्छु बाहिर
सम्बन्धहरूको भीडभित्र कहाँ हराएकी छु म

फूल छैन, न चरा छ, हाँगा कति रित्तो अहिले
शून्यताको ऐनामा पो आफू देख्न थालेकी छु म

सब थोक बिक्रीमा छ

तिमी मान या नमान, बजारको खेल हो यो
आँसु भन, हाँसो भन, सब थोक बिक्रीमा छ

सजिलो हुँदैन तोलमोल बचाइको र सोचाइको
सच्चाइ जब तराजूमा, सब थोक बिक्रीमा छ

घाम र पानी सहेरै पनि फुलिदिन्छ सपना
देख्दैगर्नू सपना तर सब थोक बिक्रीमा छ

फिक्री गरेरै बितेको जीवनको हिसाब मिल्दैन
सूद थोपेको मुखले हाँस, सब थोक बिक्रीमा छ

इच्छाहरूको घोडा चढी ठोकर खान्छ मान्छे
जुनीको भाउ कति हो, सब थोक बिक्रीमा छ

न्यायको कोल्टे तराजूमा हल्का-हल्का घाउहरू
जाती नै छस् के राजा, सब थोक बिक्रीमा छ

कोठामा

कोठामा

कोठामा
केवल बत्ती बलिरहेको छ
केवल घडी बोलिरहेको छ

कोठामा
चुपचाप छौं हामी अहिले
केवल मन फुसफुसाइरहेको छ

कोठामा
केवल जून हिँडिरहेको छ
केवल शून्य टहलिरहेको छ

कोठामा
चुपचाप छौं हामी अहिले
मात्र धुन रिङिरहेको छ

कोठामा
कोही पनि छैन
छन् केवल
चुपचाप उपस्थितिहरू