Tuesday, February 24, 2009

Turning Point

घुम्तीमा

मेरो घाम डुब्यो तिम्रो निम्ति भर्खरै। तिम्रो घाम डुब्यो मेरो निम्ति भर्खरै। साँझको बेला यो। फर्कने भएको छ उ। उ आइरहेको त्यो बाटोतिर हेर। हेरिरहू। हेरिरहू त्यतै।

मृगतृष्णाझैं छ सत्य। सत्यझैं छ समय। समयझैं साँझ छ यो एउटा जब हाम्रो आ-आफ्नो एक-एकवटा स्वरलाई चकमन्नले हरेको छ।
सोध-सोधः
“कहाँसम्म पुगिआएको हो उ?”

पाकेर पतन खानलायक भएको छ। अनि, यतिखेर इतिहासको पुड्के रूखको सबभन्दा बूढो हाँगामा कोही तुन्द्रुङ्ग झुण्डिएर प्रतिवादको अभ्यास गर्दैछ।

अहिलेसम्म चम्केको थियो त्यो दैत्याकार उज्यालो। त्यसैले देखाउँदै थियो सबसब थोक। दाँत-दाँतमा अल्झिएको मासुको टुक्रा समेत देखाएथ्यो। कहाँसम्म भने, तिम्रो कटकटिएको कमेजमा लागेको रगतको दागसम्म देखाएथ्यो।

तर अब आउनलागेको अँध्यारोले देखाउने हो कि जे-जे देखिएनन् अघि। हेर। हेरिरहू। हेरिरहू कि कतै उज्यालोका लज्जालु कमजोरीहरू अँध्यारोमै टल्किन्छन् राति टल्किएको जानवरका आँखाझैं।

गण्डगोल हुनेछ। अँध्यारोले देखाएका चहकिला दृश्यहरू जब बाझ्नेछन् उज्यालोले देखाएका धमिला दृश्यहरूसँग त्यसअघि सोधिहालः
“कहाँसम्म पुगिआएको छ उ?”

नबिर्सिकन सोध्नू यो चाहिँ-
“उ वास्तवमा हो को?”