Friday, March 6, 2009

जय हो!

जय हो-
आवाज खोसिएको गीतझैं भतुवा हल्ला, जय हो!

(रच्नु पर्ने जुन गीत रचिएन
गाउनु पर्ने जुन गीत गाइएन
त्यो गीत तिम्रो सुकेको भुँडी

पिल्सिएको पैंतालाले गाउँछन् धारावी।
)



मूर्छा परेका छन् मुर्छनाहरू
अँध्यारोको टिलिक्क दाह्रा गाढिएको गलाबाट
रगत चाट्दैछन्
लपलपे ग्लोबल बिरालोहरू।

र यतिबेला मान्छेको शरीर ओढेका
धारावीका “कुकुरहरू” गनगन गर्दैछन्
-कसले ठोक्यो ताला गीतको दैलोमा?

पातपात खसेका शीतका थोपाहरू
बिहान सुकिसक्दा पनि
संविधानको कोठामा नजरबन्द गीतले
गुहार पाउँदैन यो खोंडे देशमा।

ड्रेन पाइपहरूको अँध्यारो ओडारमा
पहिलो झोपडीचित्र कोरिन्छ,
त्यसपछि नगर निगमको मैला प्याँक्ने ढ्वाङबाट
पहिलो पाठ शुरु हुन्छ सङ्घर्षको।

हुनेखानेहरूको कलेष्टोरल बढाउने छुट
आम बजेटमा घोषणा गर्न रात गाल्ने
देशी मन्त्री र लालफिताशाहहरूलाई
झोपडपट्टीको सामूहिक टट्टीखानमा कीरा बढेको हेर्न
विदेशी चेश्माको सहारा चाहिन्छ।

फ्याक्ट्रीको धुँवा र अलकत्राको गन्धबाटै
शहरको सत्य बुझेका शहरवासी गरीब
जीवनको जुलूसमा मौन प्रतिवाद बोल्छन्।

नाराहरू बुझ्दैनन् जुलूसको इशारा।
जुलूसभित्र नारा भट्टाउने दुश्मनको जासूसलाई
चिन्दैनन् हाक्की नाराहरू।

पाइरेटेड अर्थको हजारौं सीडी छरेर बजारमा
सामुहिकता जलेको सिगरेटबाट
मुक्तिको खरानी झर्छ शब्द।

सबै अँटाउँछन् शून्यतामा
कि शून्यमा शून्यसरि कहाँ बिलाउँछ र
मान्छेको छाप
दाग

सुस्केरा।

तात्तातो मोमोझैं बिक्छ
गरीबीको कथा
बजारमा महँगो भाउ।

विकल्पको बाटोमा दन्तेकथाको फेदहीन खाडल।

वारि छन् धारावीका गट्ठे “कुकुरहरू”।
पारि नोटैनोटका दैते टावरहरू।

जय हो
आधा कथाका
अधुरा रागहरू!