Tuesday, October 20, 2009

Granny

बोजू

1

बोजूका “उइले नै...”-हरूको
उड्ने गलैंचामा
फेरि उड्नु पाउनु नि!

2

बोजूका कथाहरूको
टाइम मेशिनमा चढेर हामी
निमेषभरमै
भूत-भविष्य
कहाँ-कहाँ पुग्थेनौं र?

खै त
बोजूको त्यो टाइम मेशिन
कुन बक्सामा कैद छ हँ आज?
कुन लुगामा
कुन कपीमा
कुन चकलेटमा
कुन फोटोमा
कुन फूलमा
कुन तारामा लुक्यो त्यो टाइम मेशिन?

बोजू,
मेरो भूत वर्तमानले बेह्रेको अनुभव मात्र रह्यो
मेरो भविष्य वर्तमानको ऐनाको विम्ब हुने गर्छ

तपाईंको यो खोरण्डो नातिलाई त
तपाईंको टाइम मेशिनकै उडान चाहियो है!

3

मभित्रको बालक
अहिले पनि
बोजू जहाँ-जहाँ पनि जान्छिन्
त्यहीँ-त्यहीँ जाऊँ भन्छ
समातेर बोजूको मजेत्रोको फेर

बोजूलाई दङ्ग्याएर मिठाइ किनिमागुँ भन्छ
बोजूको जुठो नखाई नअघाउँ भन्छ
बोजूको काखमा लुटपुटिएर
एक फेरो ग्वँ-ग्वाँ रोउँ भन्छ
मात्र एक फेरो।

4

दशैं :
यो निधारमा नआँट्ने
आकाश जत्रो आसिक
मनभरि
टाँसिदिइन्।

5

हाँस्दै उनले
पुराना दिनहरू सम्झाउन थालेपछि
लाग्छ
फेरि त्यही नाति छु बोजूको म-

जब मेरा पनि
नबुझ्नुका आफ्नै मीठा रमाइलाहरू थिए
नजान्नुका आफ्नै रुमानी संसारहरू थिए।

6

बोजू त
अहिले पनि मलाई हकार्छिन्
फेरि माया गर्छिन्

माया गर्छिन्
र फेरि हकार्छिन्

म मात्र अट्टेरी गर्न सक्दिनँ
लाडे पल्टिन सक्दिनँ

बोजूहरू त
जस्ताको त्यस्तै
सधैं।

7

बोजूले काम नसकुञ्जेल
भान्साकोठामा
हेरिरहन्थें जून खिडकीबाट।

बोजूदेखि टाढा छु :
जब जून देख्छु
बोजू सम्झन्छु।

8

बोजूका आँखा
आकाशगङ्गा।

कहाँ पर्छ पृथ्वी?
कहाँ छु म?
कहाँ छ मभन्दा ठूलो मेरो अहम?

बोजूका आँखा
आकाशगङ्गा।

बन्द छन् अहिले
बोजूका आँखा :
श्शश.... हल्ला नगर
उनी अहिले आराम गर्दैछिन्।

9

मलाई केवल अचम्म लाग्ने दिनहरू खै?
मलाई संसार विशाल लाग्ने बोधहरू खै?
मलाई आफू क्षुद्र लाग्ने आभासहरू खै?

बोजू
बोल्नुहोस् न
मैले बोल्नै नसक्नुका आनन्दहरू खै?

10

अचेल बोजू कमजोर भएकी छन्।
बोजूका पातलो पाखुराहरू बलियो इतिहासझैं देखिन्छन्।
बोजूका खिरिला हातमा बाइँ सुहाउँछ, पहाडमा नागबेलीझैं।
बोजूका पाउहरूमा पाउजु छैन, छ अश्रव्य लय।

अचेल बोजू कमजोर भएकी छन्।
र पनि उनी काम गर्छिन्। के-के गरिबस्छिन्।
सियोमा धागो छिराइमात्र दिनुपर्छ
उनी सिउन थाल्छिन्,
मानौं उनी हाम्रा फाटिएका नाताहरू सिउँदैछिन्।
कुच्चो हातमा राखिमाग्छिन्
उनी बढार्छिन्,
मानौं उनी हाम्रा दुःख बढार्दैछिन्।

उनले काम गरिनन् भने
हाम्रो ब्रम्हाण्ड लथालिङ्ग हुन्छ।

अचेल बोजू कमजोर भएकी छन्।
कमजोरै भएर पनि उनी थाम्छिन्
हाम्रो पृथ्वी।

11

बोजूको मायाको स्पर्शले नै
निरक्षर मेरो मुटुलाई
भावनाहरू पढ्ने बनाएको हो।

बोजूको चर्को स्वरले नै
अन्धो मेरो कानलाई
यथार्थहरू देख्ने बनाएको हो।

बोजू मेरो
पहिलो गुरु
जसको पाठ्यक्रममा
सधैं माटो गन्हाउँथ्यो।

12

नातिको मन गोड्दै
मलजल गर्ने बोजूसँग छ
बाली सप्रेको हेर्ने
एउटा हरियो धोको।

के होला त
बोजूको धोकोको?

13

बोजूको काखभित्र आफूलाई लुकाएर
पारी डाँडामा
समयका दूतहरूझैं देखिने
राँके भूतहरू गन्दा एक-एक गर्दै
कति ज्यूँदो बन्थे
स्वयं अङ्कहरू
1...2...3...

14

तारा
जून
बादल
आकाश
पृथ्वी
परी
पुतली
नदी
...
सोच्दै निदाउँथें
बोजूको काखमा
राति।

बोजूको काखमा टाउको नराखी
ब्रम्हाण्डलाई पढ्नु गाह्रो हुन्छ।

बोजीको काखै
ब्रह्माण्ड।

15

बोजूको कथाकी बिरूप बोक्सी अझ बूढी भई कि!
बोजूको कथाको मोटे राक्षस पनि बूढो भयो कि!

बोजूको कथाको स्याल डाँडामा कराउँदैन अचेल।
बोजूको कथाको राजकुमार वनमा हराउँदैन अचेल।

बोजूको कथा सुन्ने
त्यो सानो नाति मात्र
कता हो कता हराएको छ अचेल।

16

आकाशको जून गोलो
कि बोजूको आँखा गोलो?

आकाशको बादल सेतो
कि बोजूको केश सेतो?

आकाश नीलो
कि बोजूको पीडा नीलो?

आकाश रातो
कि बोजूको सङ्घर्ष रातो?

आकाश रहस्यिलो
कि बोजूको जुझारुपन रहस्यिलो?

आकाश ठूलो
कि बोजूको मन ठूलो?

17

बोजूले रोप्नुभएको
दन्तेकथा
बढेर
अहिले
झ्याम्म परेको
रूख भएको छ।

त्यो रूख
यति-यति टाढो छ यहाँदेखि
कि मलाई सियाँल चाहिँदा पनि

डामिरहनु परेको हुन्छ
समस्याको घामले।

18

आइन्स्टाइन पढिनन् बोजूले।
न त आइन्सटाइन चिनिन् बोजूले।

तर आइन्स्टाइनले चिन्थे
बोजूलाई
किनभने
आइन्स्टाइन चिन्थे समयलाईः

किनभने
बोजू समय हुन्।

19

बोजू बिरामी भएर ढीलो उठेको दिन
लाग्छ
बिहान पनि
मध्याह्नतिर हुन्छ।

मध्याह्न
साँझतिर सर्छ।

र साँझ आइपुग्छे
कुनै गोप्य मिटिङ सकेर
मध्य रातमा।

20

आमाकी आमा
बोजूहरू
महा+आमा=महामा!

यसो सम्झन्छु घोरिएर
कोही बेला
बोजूहरूको आफ्नै संसार हुन्छ
जहाँ उनीहरू हाम्रो आविष्कार गर्छन्।

21

चार कोरी नाघी भन्छिन् उमेर।
कुन्नि कतिपल्ट हो यसरी भोट हालेको। अन्दाजै छैन।
किन यसरी भोट हाल्छिन् घरि-घरि, बुझ्दिनन्।

राजनीतिको नाममा जुलूस बुझ्छिन्। नारा बुझ्छिन्।
भित्तामा लेखिएको चुनाउचिह्न चिन्छिन्।
पुगिनन् कलकत्ता। देखिनन् दिल्ली।
बुझ्दिनन् ‘राज्यशक्ति’।

नङको नीलो धर्सा नमेटिञ्जेल आश्वासनहरू सम्झन्छिन्।
को चौकीमा बस्छ, को उठ्छ - मतलब हुँदैन उनलाई।
तर बोजूलाई थाहा छ-
यो नाटकबाट उनलाई कुनै लाभ छैन, केवल हानि छ।

उनको महान् देशलाई उनले देखेकै छैनन्
र उनको महान् देशले उनलाई देखेकै छैन
-यो पनि बोजूलाई लागिरहन्छ।

22

जटिल हुन र
देखिन मन पराउने उत्तरआधुनिक कपीक्याट हामी
बोजूहरूको सरलता र सहजतासित
केवल आमनेसामने हुन्छौं

तर किन
त्यो सरलता र सहजताको
कपीक्याट भएनौं?

23

हेरिरहन्थें
हेरिरहन्थें
हेरिरहन्थें
र मात्र देख्दथें
बोजूले खट्नु भएको।

बोजूले बोजू हुनुभएको।

24

धिब्रीको कमजोर उज्यालोले नछोएको
त्यो अँध्यारो कुनामा
बिँडी खाँदै
के सोच्नुभएकी बोजू?

25

नाति-पनाति-खनातिसम्मको सपना
बोजू एक्लैले
देखिदिएकी रहेछन् कि-

अचेल बोजू आँखा देख्दिनन्।

26

चुह्लामा उम्लिँदैछ नुनसँगै
सुत्नअघिको
एक मग फिका चिया।

दैलो थुन्दै सम्झन्छिन्
परदेसका छोराहरू।

27

बोजू तपाईंलाई मनपर्ने गीत कुन हो?

गर्मीको भाबरिलो दिन।

धुँवाहरूबीच
बोजू तिहुन चलाउँछिन्
चुह्लाको आगोको रापले तातिएर।

के तपाईँलाई कहीँ जाने मन छ?

28

भङ्गेरा देख्दिनँ अचेल।
"ग्लोबल वार्मिङ्ग"-ले निल्दैछ भङ्गेराहरू। र मान्छेहरू।

एक दिन हठात्
एउटा फुस्रो भङ्गेरा देखेर
सम्झिएँ
बोजूको
फुस्रो मजेत्रो ।

29

चाउरिएका छोटा औंलाहरू
सेत्तै-सेत्तै केशराशि
मलिन आँखा
सुकेका गाला
कटकटिएको ओंठ
ह्वास्स गह्नाउने मुख
सुपारीले खाएको कालो दाँत

बोजूलाई
र पनि
कति मन पराउँछु
कति
उनलाई के थाहा होला?

30

बोजूको बिँडीको धुवाँ
-आधा खिड्कीबाहिर
आधा खिड्कीभित्र।

बीचमा बोजू

उनको सुर्ता।

के सकिन्छ र भन्न यसबारे?

31

भुइँमा किन त्यसरी राखियो बाजेलाई-
नातिलाई थाहा भएन।
आज किन बाजे अचल छन्-
त्यो पनि नातिलाई थाहा छैन।
गाँउका सबै मान्छे
किन यसरी भेला भए-
त्यो त झनै थाहा भएन।

तर बाजेको छेउमा लडेर
बोजू किन त्यसरी डाँको छाडेर रोइन्-
उसले अलि-अलि बुझ्यो।

त्यसपछि बोजूले सेतो साडी लगाइन्।
निस्तो भातमात्र खाइन्। सुँकसुँकाइरहिन्।
पहिलेझैं बोल्न छाडिन्। सुकेर खिनौटी भइन्।

उसले प्रेम र मृत्युलाई एकैचोटि
बुझ्दैथियो। नजिकबाट।

32

बोजूको हामीलाई के-को ऋण र?

बोजू भनेकै नातिहरूका लागि।
नतिनाहरूका लागि।

बोजूको कति ठालो ऋण हामीमाथि
चुकाइनसक्नुको!