बोजू
33
बोजूको अनुहार
प्रिजम।
त्यो प्रिजमको
वर्तमानबाट छरिन्छन्
आउनलागेको हाम्रो अतीत
र
उनको बितिसकेको भविष्य।
बोजूको प्रिजम अनुहारबाट
कुन्नि कस्तो
हल्का आवाज पनि आइरहन्छ
कुनै लोकगीतको पुरानो धुनमा।
बोजूको अनुहारका नागबेली चाउरीहरूमा
बाँचिबसेका छन् अहिले
समयका
सुनसान
चिहानघारीहरू ।
34
जहिले पनि हुनैपर्छ
बोजूको पटुकीमा
विचारजस्तै सुपारीहरू।
उनको ऐतिहासिक गुनिउँमा छापिएका छन्
स्पेसका अक्षरहरू
र समयका हिज्जेहरू।
जब बोजूको ढाड
कटकटी दुख्छ
उनले बोकिराखेका अपूरो सपनाहरू उडेर जान्छन् कतै।
दुखेका उस्तै बेलाहरूमा
झलझली देख्छन्
मुस्कुराइरहेका गहुँगोरो बाजेलाई
उनको नदेख्ने आँखाले।
35
बोजूहरूको समयमा समय चोट्टा थिएन।
आगुँ आगुँ नै हुन्थ्यो।
पोहर पोहोर नै।
परार परार नै।
समयले वार गर्थ्यो
सामुन्नेबाटै।
समय र मान्छेबीच
‘लेऊ-र-देऊ’–को स्वार्थी नाता थिएन।
समयले मान्छेको इज्जत गर्थ्यो।
बोजूहरूको समयमा समय दलाल थिएन।
36
बोजूहरूलाई बुझ्न खोज्दा-खोज्दै
बालक रहेका हुँदैनौं
र बुझ्दैनौं।
बोजूहरू बुझ्नु हो भने
बालक वा बालिका हुनुपर्ने हुँदो रहेछ।
बोजूहरू त हामीलाई
हाम्रा अतीतहरूमा बुझेझैं
हाम्रा वर्तमानहरूमा नै बुझ्छन्।
कस्तो गरी छिर्न सक्छन्
हाम्रा समयहरूमा
बोजूहरू?
37
हाम्रा आमाहरूको पराकाष्ठा छ
बोजूहरूमा।
सम्पूर्ण पाकेको आमाको माया
बोकेर बोजूहरू
सधैं दिन खोजिरहेका हुन्छन् केही
जसलाई नाप्न कुनै यन्त्र छैन।
हामी जन्मँदा आफ्नै छोराछोरी
फेरि जन्मेको देख्छन् बोजूहरू हामीमा।
हाम्रा भूलमा उनीहरूका छाराछोरीको भूल देख्दा हुन्।
हामीले टिपेका सत्यहरूमा उनकै छोराछोरीका सत्य भेट्दा हुन्।
हाम्रा आमाहरूको सगरमाथा छ
बोजूहरूमा।
38
बाटो हिँड्दा बाटैलाई मात्र हेरेर हिँडिन्छ
हेरिँदैन आफ्नै टाउकोमाथिको बोजूमय आकाश।
नहेरिने त्यो आकाशले
तर हेरिरहेको हुन्छ
हामीलाई
हाम्रो बाटोलाई
र
हाम्रो बाटोको प्रत्येक घुम्तीलाई।
39
शब्दमा आँट्दैनन्
बोजूहरूः
शब्दहरू
आँट्छन्
बोजूहरूभित्र।
40
नानीहरू
जब सोध्छन्
फूलबारे, पुतलीबारे, चराबारे र जूनबारे
बोजूहरू उनीहरूमा
बुद्ध पलाउँदै गरेको देख्छन्।
नानीहरू
जब बन्दुक पनि खेल्छन्
र कविता पनि गर्छन्
बोजूहरू उनीहरूमा
चे उम्रिएको देख्छन्।
नानीहरू बढेपछि
के हुने हुन् त,
त्यो थाहा गर्नु मन छ बोजूलाई।