Tuesday, March 2, 2010

अर्चना, यो बिदाइको बेला हो

एउटा टहटह जून च्यापेर मुखमा
पार गर्दैछ त्यो पुल
स्यालझैं कुन्नि के।...


अर्चना, कसको आवाज सुन्ने जियालो पर्खाइ तिम्रो?
मोबाइलमै टाँसिएको छ-छ कान
-हेलो, हेलो, हेलो...

मोनालिसाको एउटा आँखाभित्र घुसार्दैछ खस्रो औंला सिजफ्रेनिक जर्ज बुश।


किताबका पन्नाझैं खापै-खाप हुँदै जाने जीवन भोगाइहरूलाई
माचिसको जल्दो जङ्गी सिन्काले जोत्दैछ ओंठ म्वाइँ खान
-देख्दैछौ के तिमी अर्चना, भन त?
तयार छौ के जलाउन तिम्रो अधबैंसे उच्छवास?

तिम्रो कम्प्युटरको शून्य मनिटरमाथि बसेको छ त्यहाँ
रातो बिरालो। बोल्दै आँखाहरूले। जुँघाहरूले।
बोल्दैन तर्कको भाषा जान्ने कृत्रिम बुद्धि।
केवल देखाउँछ। देख्न लगाउँछ। केवल भोगाउँछ।

अघि बिहान बजारबाट हतार-हतार फर्किएपछि
सामान खनाएपछि झोलालाई टकटकाउँदै
भित्रपट्टिबाट फेदैदेखि उल्टाएर हेर्दै थियौ नि।
निकाल्न रहल छ कि ननिकालिएको वस्तु भनेर।
हो, ननिकालिए भित्रै कुहिन्छ कि त कुहाउँछ-
कुहिन्छ साहस, ज्ञान, प्रतिभा, जोश, यौन, आक्रोश पनि।

बिहान घामले झुल्किनु पनि झुल्किनुको अभिनय गरिटोपल्छ भन्छ।
सोध्न त मन छ नि- "साँच्ची, हाम्रो साँच्चीकै बिहान कहिले हुने अर्चना?"

तर सोधिदिँदैनन् तिम्रो पुरानो कोठा र तिम्रो हरियो कुकुरले कहिल्यै।

किन हँ पुरानै हुँदैन ऐलेसम्म धरि
उइले नै-को सिसिफसको कथा?


तिम्रो कोठाका निर्वाक् भित्ताहरू र तिम्रो देशका सीमान्ते काँढेतारहरू
मनभरि सपना सजाउँछन् कुनै क्यामिकेज आक्रमणको।
भन्दा हुन् बाटोहरूलाई- "लु भत्काइदेऊ, भत्काइदेऊ हामीलाई!"

[यद्यपि, आफूलाई भत्काऊ भन्ने आँट कसले गर्छ र?]

उनीहरू सोच्दा हुन्-
हाम्रो ग्राउण्ड-जीरोमा इतिहास-इतिहास खेल्दै हुर्किउन् भोलिहरू
बालकबाट पर्सिहरूमा। पर्सिहरू निकोर्सिहरूमा।
निकोर्सिहरू कानाकोर्सिहरूमा।

तिमीलाई पनि उल्टाएर हेर्नु छ ओ बितेको वर्ष।
बितेको सपना ओ। भन्दैछ तिम्रो युद्धरत वर्तमान।


अर्चना, अहिले कोही बोल्नेछैन । संवेदनाहरूको गुरिल्ला आक्रमण छ विपनाभरि
र तिमीचाहिँ मोबाइलमा कान टँसाएर अझै "हेलो-हेलो" गर्दैछ्यौ!
कति-कति बोलेर पनि कसैको बोल्ने समय छैन। छैन साहस पनि।
कसैले भन्ने छैन- "अर्चना, तिमी त्यहीँ पुगेर मलाई सुन्नु। म बोल्नेछु।"


फोन राख अर्चना, यो बिदाइको बेला हो।
जानेलाई बिदाइ देऊ। नरोक।
किनभने लडाइँ तिमी एक्लैले पनि लड्नै पर्छ।
सके, लडाइँको बीउसम्म त तिमीले एक्लै जोगाउनैपर्छ।
बरू सम्हाल तिम्रो लत्रिएको त्यो पछ्यौरी।

स्यालै हो त त्यो? स्यालझैं त्यस आकृतिको जीऊमा
नीला सुम्लाहरू छन्। चोटहरू छन्। निकै टाढो पुगिसकेको छ ऐले त त्यो।
र बग्न थालेको छ ऐले पुलमुनि
तरल धातु। रातो...


[स्पर्श, सम्पादक-लक्ष्मण दाहाल, राजा पुनियानी, सिलगढी; जनवरी 2004]

इप्सिता, तिम्रो बालाई कविता मन पर्दैन

ओ इप्सिता
तिम्रो बालाई आकाश मन पर्दैन
तिम्रो बालाई नारा मन पर्दैन
तिम्रो बालाई तिम्रो झोला मन पर्दैन
तिम्रो बालाई तिम्रो कविता मन पर्दैन

के गर्छ्यौ इप्सिता
जब तिम्रो बालाई
तिमीले हेरेको चित्र मन पर्दैन
तिमीले पढेको किताब मन पर्दैन
तिमीले सुनेको गीत मन पर्दैन

जब तिम्रो बालाई
तिमीले कोरेको पोस्टर मन पर्दैन
तिमीले हिँडेको गल्ली मन पर्दैन
तिमीले घुमेको गाँउ मन पर्दैन

तिमीलाई मन पर्छ
नदीमा माछा हेर्नु
सके, ती माछा आकाशमा उडेको कल्पना गर्नु

तिमीलाई मन पर्छ
मेलामा घुम्नु
सके, त्यही मेलासँगै गएको बेलामा भासिनु

तिमीलाई मन पर्छ
जङ्गलमा फूल हेर्नु
सके, ती फूलले तिमीसँग अड्डा दिएको सम्झनु

यो डिसेम्बर
तिमीलाई क्याट बस्ने हुकूम छ इप्सिता

पछिल्तिरबाट तिम्रो कुममा ठेल्दै
तिम्रा बाले तिमीलाई केही भन्दैछन्
तिमीलाई पनि कर्पोरेट हुनुछ
गतिलो तलब, चम्किलो बचाइ
घर-गाडी-ऐश...

साठीमा नक्सल गरेका तिम्रा बालाई
तिमीले पैसा कमाएको हेर्नुछ

तिमीलाई उनले ल्यापटप किनिदिए
त्यसमा कविता लेख्नलाई होइन इप्सिता
इण्टरनेट जोडिदिए
विश्व चिहाउनलाई इप्सिता

तिमीलाई कति थाहा छ
त्यो तिमीलाई लगभग थाहा छ

संसारमा तिमी के-के जान्दैनौ
त्यो पनि तिमी मोटामोटी जान्दछ्यौ

तिमीलाई त मन पर्छ
उसले तिमीलाई नहेरेको
उसले नबोली घण्टौं चउरमा बसेको
उसँग घण्टौं चिया पिएको

तिमीलाई कति मन पर्छ
उसको अव्यवस्थित कोठा
उसको पुरानो जिन्स
उसको नदेखिएको क्रोध
उसको सुकेको ओंठ
उसको हातमा सिगरेट
सिगरेटबाट बिस्तारै झरेको खरानी
प्यालाबाट बिस्तारै उडेको चियाको धुँवा

आधा राति ल्यापटपमै लेखेको नयाँ कविता
हतार-हतार मोबाइलमा
उसलाई सुनाउनु त झन्
तिमीलाई कति-कति मन पर्छ

इप्सिता
तिम्रो बालाई
फूल-आकाश-भमराहरूसँग भागिसकेको
तिम्रो मनबारे थाहा छैन

मान्छेका दु:खहरूसँग तिमीले बिहे गरिसकेको
पनि थाहा छैन

तिम्रा बालाई थाहा छ के इप्सिता
उनको कर्पोरेट र तिम्रो कवितामाझ
कति ठूलो लडाइँ छ?

दैलो

शृङ्खला कविता

दैलो-1

हेर्नलाई
पत्रिकाहरू छन्
खबरकागजहरू छन्
हेर्नलाई टेलिभिजन छ
हेर्नलाई भित्तामा झुण्ड्याइएको क्यालेण्डर छ

भित्तै पनि हेरिरहँदा हुने
खिडकीदेखि बाहिर हेरिरहँदा पनि हुने

किन हो

दैलोतिरै हेरिरहन्छे

युगौंअघि
कसैले उसलाई
आउनेछु भनेको थियो कि


दैलो-2

दैलोको इज्जत राखिदिनु नै हुनुपर्छ
खिरकीले सधैं
खिरकी नै भइदिइरहन्छ

दैलो-3

दैलो ढकढक्याएको सुनेर
दैलोसम्म पुग्छु
आवाज बन्द

फेरि उस्तै आवाज
फेरि बन्द

हत्तु भएर
दैलो खोली बाहिर हेरेको त
मै पो उभिएको रहेछु
ठिङ्ग

दैलो-4

सबैको घरमा दैलो हुन्छ
दैलो बिनाको घर
कसले बनाउला र

तर सबै दैलो
एउटै हुँदैनन्

कसैको दैलो सधैं खुल्ला हुन्छ
कसैको सधैं बन्द हुन्छ

जनताको दैलो ढकढकाइरहनु पर्दैन
खुल्लै खुल्ला

सरकारको दैलो
सधैं ढकढकाउनु पर्छ
जो सधैं बन्द हुन्छ

दैलो-5
आधा खुल्ला, आधा बन्द
त्यो दैलो कसको घरको होला

हामी फर्कियौं भने

फिक्का एउटै आकाश हेर्न अभ्यस्त
हाम्रा आँखाका गाँउहरू
डढेर खरानी भए
केवल एक घाम किरणले।


बाध्यतावश रोकिएको नाउझैं
बिसाउँछौं
खोजेर रहरझैं किनारहरू।

स्नायुहरू भएर कुदिबसेका छन्
निषेधाज्ञा र हुकूमका टिस्टाहरू।

हुरीले रातभरिमा
यो गाँउलाई, यो शहरलाई
कहीँको पनि छाडेको छैन-
हर साँझ कुनै निष्प्राण ढुङ्गामा
प्रेतझैं त्यही हुरीको आराधना हुन्छ।

नवविवाहित दुलहीको स्निग्ध स्यूँदो भरिनु भएर
जति कोरिए धर्साहरू सपनाका
उति धस्किए विपनाका छेउहरू।

बजाउन झिकेको हरेक पालो
चुँडिएकै भेटिन्छ
गिटारको कुनै न कुनै तार।

भूगोलैपछिको इतिहासमा
एक न एक पाइडपाइपरले
रित्याएको छ-छ गाँउ।

खुशीको कात्रो बेह्रेर बजार
आफ्नै स्वाभिमानको मलामी जान्छ
लाशलाई माटो दिन्छ
यो श्मशान दुनियाँमा।

युद्धका हाटहरूतिर बिक्री हुन्छ तातो रगत
र रित्ता नसाहरूमा इञ्जेक्ट गरिन्छ
पराजय र सम्झौताहरू।
हाम्रै मुटु र हड्डीहरूले बनाइएको बारुद
हाम्रै विवशताको गाँउमा पड्काइन्छ।

धुवाँ उडिरहेको
शताब्दीको अङ्ग-प्रत्यङ्गभरि
साँपझैं घस्रिन्छ
एउटा भयावह चिसो आभास।

विश्व बोक्दा-बोक्दा थाकेको हर्क्युलसलाई
आफ्नै ओजन पनि पहाड लाग्छ-
र धुलोपिठो पार्छु भन्छ
आफ्नै अस्तित्वलाई।

कानहरू एक पोका आवाजसम्म नछिर्ने
अँध्यारा प्वालहरूमा फेरिएका छन्
जहाँ गुँड हालेका छन् जङ्गली कमिलाहरूले।

छातीको टोड्कामा अण्डा पारेका छन् गिद्धहरूले।

सबै ‘ठिकै छ’ भन्दैछन्
जब केही पनि ठीकठाक छँदैछैन।

‘चुप भलो’ भनेर सुरक्षित ठान्नेहरूको
भलो नहुने पनि पक्कापक्की भइसकेको छ।

जर्जर जुनीहरू बोकेको
ऊँटको तिर्खा
मरूभूमिभरि
अप्राप्तिको चित्र कोरिन्छ।

पहिलो दिनदेखि नै हुल बाँधेर
तिर्खा मेट्न निस्कियौं आदिम गुफाहरूबाट

सब थोक गुमाइवरि
आज युगको यो सङ्घारमा निकम्मा साबित भयौं।

त्यस घुम्तीसम्म ल्याइपुऱ्यायौं
हामीले इतिहासलाई
ए सब थोक गुमाउने साथीहरू
जहाँबाट हामी फर्कियौं भने हारेर
मान्छेले कहिल्यै आफूलाई माफ गर्न सक्नेछैन।

[अभियान, शिलान्यास प्रकाशन, लाटपञ्चर, भारत : सम्पादक-डिकू मुखिया, 2003]

हरू

कहिल्यै नभनिएका कुराहरू
नभनिनलाई नै हुन्छन् ती त।
नभनिएको उस्तै तातो एउटा भनाइजस्तै
हाम्रो हुनु।


धेरै सोध्नुहरू सोधिसकेर पनि
कसै-कसैले सोध्दैन अचेल सही सोधाइ।
एक्ला-एक्लैहरूको भीडले
गाँउ-शहर डम्म ढाकिएपछि
सासै थुन्छ होला हावाको पनि।

गुल्चे खेल्छ कहिलेकाहीँ घामले
र हराइदिन्छ दिनभरि। दोबाटोमा निस्केर
कचेडा गर्छन् मातेपछि बुद्धहरू, सार्त्रहरू
गान्धीहरू, मार्क्सहरू। रमिता हेर्नेहरूको घुइँचोबाट
फुत्त टाउको उकासेर कसैले
उनीहरूबाट सुटुक्क चोर्छ ‘हरू’-लाई।
र घोलिदिन्छ सबैले खाने पानीको मुहानमा-
बुद्धको हरू। सार्त्रको हरू। गान्धीको हरू। मार्क्सको हरू।
हेर्नेहरूको त्यो हरू।



नसोधिएको कुनै बाफिलो सोधाइजस्तै
हाम्रो हुनुका आयामहरू। हाम्रो हरू।
यतिचाहिँ सोधिँदै थिएछ-

"यो कहाँ आइपुग्यौं हँ?"


कहीँ पड्किन्छ केही हठात्
जब बढ्छ ढुकढुकी हरूको।
छक्क पर्दै कि हरेश खाँदै हेर्छन् हामीलाई
हामीले कतै नदेखेका आँखाले।

हरूको डिजिटल कयामेराले खिँचिएर
हामी कलिपिङहरू हेरिन्छौं
हाम्रो हुनुका टुक्राहरूमा
भर्खरै छिनाइएको रगतपच्छे बूढी औंलाका
एकलव्ये आँखाहरूले।

आकाशमा बग्दो खोलामा नुहाएपछि
ताराहरूसित कानेखुसी गर्दा हुन्
घर फर्किनु बिर्सिएका साइबोर्ग नानीहरू।
घर-समाजका देवालहरू बिर्सिएर
र सम्झिएर देवालमा इँटामात्र जोड्ने लोदरे हातहरू।
उनीहरू नारा लगाउँछन्-
"हामीलाई देवाल तोड्न देऊ।"



कटमेरो पृथ्वीलाई सुपारीझैं मुखमा हाल्छ
र यसको टर्रो स्वादको भेउ
कसै सामु पनि खोल्दैन। यस्तै छ हरू। प्रायाग्म्याटिक।

यस समय धृतराष्ट्रे मोहपाश फैलाएर समय
प्रेम प्रपोज गर्दैछ हरूलाई।

अचेल हल्ला गर्दिनँ। हल्ला पनि हुँदिनँ।
[आफूलाई दण्डित गर्छ आफैले। आफूलाई निर्वाण दिन्छ आफैले।
सिङ्गो आफू खण्डित आफूहरूको संयुक्त निर्णय हो। निर्माण हो हरू।]

नआउनेहरूको आगमन पर्खेर बसेको हरूले
बिस्तार बुझ्ला
नआउनैलाई हुन्छन् कतिपय हरू।


"यो कहाँ आइपुग्यौं हँ?"


[1. प्रणयन, सम्पादक-भूपेन्द्र सुब्बा, प्रवेशाङ्क-अगस्ट 2003; 2.स्वतन्त्रतोत्तर नेपाली कविता (स्वर्ण जयन्ती पुस्तकमाला) : नेशनल बूक ट्रस्ट, नयाँ दिल्ली, सम्पादक-मोहन ठकुरी, सन् 2008, शक 1930]

अनिद्रा

जलथल पोखिएको जुनेलीमा
छ्याङ्गै छ अहिले
बारीको तल्लो कुना पनि।

यो एक्लो कोठा
र एक्लो म
जागो नै छौं
अझ।

निदाएकी छैन गाई पनि।

घडीचाहिँ अँध्यारो देवालबाटै
अझ एउटा सुर्तापूर्ण घण्टा बितेको
निर्जीव सङ्केत कराउँदैछ।

कर्फ्यू कोठाभित्र
गश्तीमा छ
डिसेम्बरको ठिही भिरेको हावा।

कमानको मूल फाटकमा झुण्डिएको
तालाको कीराले
चपाएको छ-छ
पहेंल पात मनको। यही पातसँगै
अलि-अलि गरेर
तुरिँदै गएको छ
मेरो ढुक्क पनि।

किरकिरे कराएको चकमन्नताले
खोप्दै लान्छ कानको जाली।
सुन्छु जब
आफ्नै श्वास-प्रश्वासले
आफै रेटिएको आवाज।

र फेरि अर्कोपल्ट कोल्टे फेरेको छु।
कतिपल्ट भयो-
गन्ती गर्ने तरानसम्म नभएको!
निदाएकोझैं गर्दैछु एक्लो कोठामा।
यही एक्लो कोठाभित्र हठात्
कसैले खोक्यो
एउटा सुकेनास खोकी।

[1. सुनचरी समाचार, सिलगढी, भारत : सम्पादक डा0 कुमार प्रधान; 2.स्वतन्त्रतोत्तर नेपाली कविता (स्वर्ण जयन्ती पुस्तकमाला) : नेशनल बूक ट्रस्ट, नयाँ दिल्ली, सम्पादक-मोहन ठकुरी, सन् 2008, शक 1930]