Sunday, May 23, 2010

स्पर्शक

I have no doubt that it is possible to give a new direction to technological development, a direction that shall lead it back to the real needs of man, and that also means: to the actual size of man. Man is small, therefore, small is beautiful. To go for giantism is to go for self-destruction.
-FRIEDRICH E. SCHUMACHER

देखेर झलमल्ल आकाश
धेरैबेर बिर्सिएछु आफैलाई।

लुगा धुँदै थिएँ-
सम्झना आयो
पुराना साथीहरूको।

समय त लाग्छ नै
हिरोसिमा मन
फेरि हरियै हुन।

खिर्कीबाट कसैले चिहाइरहेको छ
तुरुन्तै हेरें-
जवाकुसुमको बोट पो!

फर्किरहेका छन्
बेलुकी भैंसीहरू

एउटाको घुम्रिएको सीङमा
कुन्नि के को त्यान्द्रो।

उनीहरू मलाई झुकेर हिँडेको हेर्न खोज्छन्
मेरो कसुर यति नै-
झुकेर हिँड्न चाहिनँ।

हतारले खेद्छ
चितासम्म:

हतार-हतार बल्छ
चिता पनि!

सब थोक गुमाएर बाँचेकाहरू
-यहाँसम्म कि
जीवन पनि।

ए दवाइको रित्तो सिसी!
तिमीलाई धन्यवादसम्म भनेन नि
निको हुने मान्छेले?

राम्रो बजाउँथ्यो गिटार।
फेल कहिल्यै भएन स्कूलमा। केश पाल्यो।
परम्परालाई हाँक दिँदै कान छेंड्यो।
थुक्थ्यो लङ्की लगाउनेहरूको जमातलाई।
रमेश ड्रग्स खाने भयो।

आँसुमा पनि मौन।
हाँसोमा पनि मौन।

यति सोधिन्छ तर
-जाती नै?

सङ्कटको बादलले
डम्म छोपिएको देशलाई
खबरकागजमा बोकेर उनी
सुरुसुरु घर फर्किएका छन्।

कति माया गरेर स्याहार्छ जङ्गलले
कुनै घाम जित्न तपस्यारत
गुरिल्लाहरूलाई।

खिसी गर्नोस्
कृपया खिसी गर्नोस्-
म पनि त मान्छे न हुँ!

विचरा भङेराहरू
के ओढेर सुते होलान्
यस्तो जाडो रात?

ओ जून
पूरै नाङ्गिँदा पनि
घाम त कहाँ हुनसक्यौ र?

ताराहरू जन्मन्छन्
ताराहरू मर्छन्
ताराहरू चम्कन्छन्
ताराहरू अरूको जरा काट्दैनन्।

मान्छे, सुन्यौ
झाँगिएछ तिमीभित्र
साँघुरोको बोट।

गर्ज्यो
गर्ज्यो
गर्ज्यो बाघ-
म्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽउँ

उज्यालोको कश तानेर
तिमी भन्छौ-
उज्यालो सकियो

हेर उज्यालो त फेरि निस्किरहेछ
धुँवा भएर तिम्रै नाकबाट...

मज्जको ह्याण्डराइटिङ्गमा
लेखिएको छ कथा
गज्याङगुजुङ जिन्दगीको
-हेर्नुहुने महाशया?

धुलो


अरू के?

म अन्धोलाई
मेरा आँखाका औंलीले
तिम्रा आँखाका ब्रेल छाम्न देऊ।

म अन्धोलाई पनि
यो संसार हेर्न देऊ।

कत्रो भो हँ चेखव महोदय
समय चोरेर राति
बाजेलाई दुखेसो लेखिपठाउने
त्यो फुच्चे भान्का?

पृथिवी बोक्ने हर्क्युलस
बिहानदेखि उभेको छ-छ
बोकेर भुल्डुङ
मट्टीतेलको क्युमा।

उनको हाँसोको वालेटमा
मुश्किलैले होलान्
दुइ-एक सक्कली पैसा।

यहीँसम्म थिएछ
घामले कुद्नु
रिले रेसमा

अब पालो जूनको।

तोड
पर्खाल तोड

पल्लोपट्टि पनि
एउटा संसार छ।

कुवाबाट हिजो
उघाएछु कविता
पानीसँगै।

आकाशमा झुण्डिएको
त्यो सेतो डम्फू
कसले बजाउँछ हँ?

मान्छेले झैं घाम ताप्दै
हाइकुको फूलमाथि बसेर बात मार्छन्
उपरखुट्टी लगाएका कीराहरू।

टोलाउँदै बसिरहेको बेला
अत्तालिँदै आइपुगेछ साथी।

संवेदनको बाटो
खोज्दै बोधन।

भिक्षु छु।
भिक्षु रहन्छु।

एकाबिहानै गाँउ पस्छ
लङ्गडाउँदै
फेरि एउटा गिर्खा दिन।

कसैले रोक्न नसकेको-

उनीहरू
गाइरहेकै छन्
आफ्नो गीत।

झुल्कियो उ फेरि।

डुब्छ रातो घामसँगै महानन्दामा
साँझ एउटा सिलगढी।

र बिस्तार टाउको निकाल्छ
पानीमाथि एउटा अर्को सिलगढी।

लामो-लामो सास तान्दै
कुइनेटोमा उभिएको बेला
उकालै हेरिपठाउनू एकपल्ट

बाटो बल्ल शुरु छ है!

झमझम बर्खा-
कति मीठो कविता कथ्दैछन् माटोमा
सखारैदेखि हलो जोतिरहेका खेताला दाजु।

उनले भने-
उदास लाग्छ यहाँको साँझ।

घरहरू, रूखहरू, ढुङ्गाहरू
साँच्चै उदास थिए सब थोक यहाँ।

चियाबारीको जीउडाल हेरेर
रमाउने पराइ आँखाहरूलाई
के वास्ता र
चियाबारीको भोकसित। शोकसित।

मरेका त छैनौं
माने नि
तर के जिउँदो यसरी नै भइन्छ?

फ्याक्ट्रीमा ओभरटाइम खटेर
ढिलो घर फर्केका बाबुलाई
"के ल्याइदिनुभो बाबा?"
भन्न नपाई निदाई बुनु।

बलियो ठानिएको त्यो रूखको जरा पनि
कति बलियो छ-
जान्नलाई हेर्नु
कुनै आँधीमा त्यो रूखलाई।

रुधिर फर्कन पनि सक्छ भन्ने आशामा
दैलो ढप्काए पनि
चुक्कुल चाहिँ मारिन राधिकाले।


अनिदो गाँउ
आज पनि अनिदो नै पस्यो जङ्गल।

रेड गरेका-गरेकै छन्
सरकारका कुकुरहरू।

लास्ट ट्रिप-
हत्तुहैरान कण्डक्टर दाइले
मुस्कुराउँदा पनि बल लगाए।