चित्र सौजन्य- www.artgallery.co.ua |
(क)
बिहान भाले बास्नअघि
कुन्नि कुन मान्छे कुन्नि कुन दिशाबाट छायाँझैं आउँछ
र कुन्नि किन दैलो ढकढकाइराखेर जान्छ।
भित्रबाट दैलो खोल्नेलाई उसले हेर्दैन पनि पछि फर्केर। उ जान्छ ढकढकाइराखेर इतिहासजस्तै यो दैलो। मानौं, उसका सावधानीजस्ता औंला दैलोसित स्वाधीनताको मागमा बाझिराख्न मात्र आएका हुन्।
(ख)
कसलाई थाहा- कहाँसम्म छ यो सीमित एक चोक्टा आकाश। रङैले त छक्याउँछ यसको। साख्खे आकाशको पुच्छर समातेर कुनै पराइ आकाशको बाटो टेक्ने हाम्रो ठूले हेर्दाहेर्दै नाम बिनाको विन्दुमा फेरिन्छ। विन्दुबाट एउटा शीर्षकहीन कथाको बोट उम्रन्छ। त्यो बोटको साना हाँगामा बसेका छन् अस्थिरताका पुतली।
यतिखेर लाग्छ - ठूले कुनै एउटा अन्त्य चाहन्छ।
यतिखेर लाग्छ – ठूले कुनै एउटा शुरुआत पर्खन्छ।
नखोलिएको दैलो उभिरहन्छ ट्वाल्ल हेर्दै नबोलिरहेको मान्छेझैं। कुनै उत्तरबिनाको प्रश्नझैं। पोस्टअफिसको मोहोर नलागेको कुनै चिठीझैं। नखोलिएको त्यो दैलो- परेलीमै अल्झिएको कसैको आँसुझैं। जङ्गबहादुरझैं।
(ग)
उसले दैलो ढकढकाएको देखेर मान्छेहरूले उसलाई
दुश्मनको ढाड़ ढुकढुकाइरहेको 'वाण्टेड' बिप्लवी सम्झिए।
साथीको कुम थपथपाइरहेको मानवबम दस्ताका सदस्य सम्झिए।
किताबको धुलो टकटकाइरहेको अल्छे विद्यार्थी सम्झिए।
सुतिरहेको नोकरलाई झकझकाइरहेको रिसाहा मालिक सम्झिए।
(घ)
कसैले चिताओस्-नचिताओस्- दैलो उभिन्छ बाहिर र केही छानिएकाहरूलाई मात्र आउजाउ गर्नदिन्छ। नभए, नछानिनेहरूका लागि उ दैलोको पहाड़ै उभिदिन्छ। बिहानको नाश्ताबाट शुरु भएर अखबार, विज्ञापन, खातापेन्सिल, खेत, बजार, पोस्टर हुँदै राति उत्ताउलो नियन बल्ब निभुञ्जेल उभिन्छ दैलो प्रत्येक दैलोबाहिर।
(ङ)
केवल एक दैलो नगिच
दैलो बाहिरकाहरू र दैलो भित्रकाहरू
एकार्कालाई चिन्छन्-चिन्दैनन्-
त्यो उनीहरू नै जानुन्।
केवल एक चुक्कुल टाढ़ो
दैलो भित्रकाहरू र दैलो बाहिरकाहरू
एकार्कालाई एकार्का चाहिन्छन्-चाहिँदैनन्-
त्यो उनीहरू नै बुझुन्।
(च)
दैलो बाहिरका चरा, आवाज र नदीहरू
किन दैलोबाहिरजस्तै छैनन्?
दैलोभित्रका रूख, रङ र गन्धहरू
किन दैलोभित्रझैं छैनन्?
कहिले खोलिनेछ दैलो
र घोलिने हुन् बाहिर र भित्र एकार्काको एकत्व मेटेर?
(छ)
सङ्घातलाई अझ पकाउँदै गइरहेको यो दैलो यसपालि आलुको भाउमाथि पनि उभिदिएछ। पोहोर तेलको भाउमाथि पनि उभिदिएछ। यो दैलो जुठेहरूको सस्तो भोटमा पनि उभिदिएछ। साल्गीको लुटिएको इज्जतमा पनि उभिदिएछ। इन्द्रेहरूको टाटेपाङ्ग्रे इतिहासमा पनि उभिदिएछ। सावित्रीइन्द्रेणीको फोक्टा खुनमा पनि उभिदिएछ।
(ज)
धुँवाले काइ परेको त्यो अनुहार
धुलौटोले मट्याइलो भएको त्यो हात
हार्छ र पनि आउँछ कहिल्यै नथाक्ने योद्धा भएर।
औंलीको टुप्पोटुप्पोमा आगोका झिल्का स्युरेर।
ढुङ्गाको धर्काझैं उसको अनुहारमा कोरिएको छ कि
खाड़ीबाट अझ नफिरेको मदनको चित्र
सोनागाछी आइपुगेकी जयमायाको गीत।
समयको थर्मस फ्लास्कमा ढिलो सेलाउँछ
उसको दैलो ढकढकाउनु।
(झ)
बाहिर बिस्तार भीड़ जम्दैछ। नदीजस्तै।
नेताको घरलाई खूब खतरा छ।
मान्छेले सोध्दैछन् आफ्ना नारामा-
के खोज्छस्- संसार कि सङ्घर्ष?
निर्वाण कि निर्णय?
युद्ध कि जीवन?
(ञ)
आकाशभित्रबाट खोलेर बादलको दैलो चिहाउँदैन कुनै घाइते घाम। तर पनि कहिल्यैकहिल्यै नहारेको त्यो मान्छे आउँछ।
आउँछ उत्सुक रापिलो अनुहार लिएर
उत्तिकै टल्किँदा आँखा बोकेर
उत्तिकै ढुङ्गिला हात उज्याएर।
बिहान भाले बास्नअघि
कुन्नि कुन मान्छे कुन्नि कुन दिशाबाट छायाँझैं आउँछ
र कुन्नि किन दैलो ढकढकाइराखेर जान्छ।
(ट)
आउँछ। यसरी नै ढकढकाउँछ पुरानो दैलो।
यो त अन्तिम होइन।
यो त मात्र जोखिम हो।
दैलो ढकढकाउनेले सुन्दैछ दैलोभित्रबाट आएको आवाज-
खोल्, खोल्, दैलो खोल्...
बन्द दैलोको बाहिर उभिएर के गरुँ - के गरुँ भएको छ दैलो ढकढकाउनेलाई। दैलो खोल्नु त भित्रकाहरूले सक्छन्। कसरी खोलोस् बाहिरबाट उसले। उ त दैलो ढकढकाउनै मात्र त सक्छ नि।
भित्रकाहरूको आवाज आइरहेको छ अझसम्म-
खोल्, छिटो खोल्...
अब हामी बाहिर निस्कने।
पुनश्चः
यसपालि नै हो उ दैलो ढकढकाएर निकै बेर यसरी दैलोबाहिर दैलोअघि उभिएको।