Friday, March 25, 2011

मानौं मेरो हातमा कुनै भाषाको बीउ छ


भन्छन्, एउटा भाषा बराबर
एउटा जीवन

संसारमा सबै थोक आफैमा एउटा-एउटा भाषा
भाषाको अनुवाद कति साह्रो

प्रेमले भोग र त्यागको कथा भन्छ
प्रेम आफै एउटा भाषा

आँसुले गुमनामहरूको गीत गाउँछ
आँसु आफै एउटा भाषा

घाउले पीड़ाको खबर भन्छ
घाउ आफै एउटा भाषा

रगतले प्रतिशोधको बयान दिन्छ
रगत आफै एउटा भाषा

म कवि
प्रेम, आँसु, घाउ, रगत
अझ कति हो कति भाषालाई उल्था गर्छु, गरिबस्छु
तर हरेक अपुताली भाषाको मृत्युपछि मात्र थाहा हुन्छ
मेरा शब्दहरू त अन्धा र गुँगा थिएछन्

र पनि कति निर्लज्ज म, हेर्नोस् त
मेरा निष्फल कोशिशहरूलाई
कविताको नाम दिएर
सधैँ तपाईँहरू सामु यस्तरी उभिन्छु
मानौं, मेरो हातमा कुनै भाषाको बीउ छ

Friday, March 11, 2011

रूख



सधैं टाढ़ा-टाढ़ाका रूखहरू
हेर्थ्यो ऊ

उसले देखेन
आफ्नै घरको आँगनमा
बढ़िरहेको रूख

एक दिन त्यही रूखले उसलाई भन्यो-
तिमीलाई सियाँल दिनसक्ने भएँ अब
आऊ, मसँग बात मार

रिक्सावाला


जटिल छ
रिक्सा र रिक्सावालाको नाता

रिक्सावालाले रिक्सा हाँकेको हो
कि रिक्साले रिक्सावालालाई हाँकेको 
गाह्रो छ बुझ्नु

सधैँ हाँक्नुपर्ने र हाँकिनुपर्ने
सधैँ हाँकिनुपर्ने र हाँक्नुपर्ने
यही सम्बन्ध चाहिँ सजिलो छ खुट्याउन

नत्र गाह्रो छ जान्नु
रिक्सावालाको गाली कसलाई खासमा
रिक्साले रिक्सावालालाई कति घृणा गर्छ कति प्रेम
गाह्रो छ जान्नु
रिक्सामा चढ़ेको मान्छेले
रिक्सा चलाउने रिक्सावाला र रिक्सामाझ
कुनै अन्तर देख्छ कि देख्दैन

रिमिक्स कविताहरू



रिमिक्स-

मदनको यादको बाछिटाले
भिजेको खिड़कीको ऐनाबाट
बाहिर हेरिरहेकी मुनालाई
कुममा छोएर केही भनेर गयो
केही दिन वास बसेको इतिहासले।

रिमिक्स-

हरेश खाएको थियो
दार्जीलिङको पोल्टिक्स देखेर
अबदेखि मात्दिनँ भन्दैथियो
एकाबिहानै झुण्डिएर मरेछ एमके फेरि
आज पनि रमिता नै छ यहाँ

बिरामी भएकाले इन्द्रबहादुर सरलाई पनि
यो खबरको भेउ भएन रे

रिमिक्स-
कुनै साहित्यिक साथी छैनन् आज तिनीसँग
डम्बर चौकमा उभिएर
कुनै नयाँ पार्टीको पोस्टर पढ़्दैछन्
कालेबुङ कलेजमा कथाको कथा पढ़ाएर
फर्किएका सञ्जय विष्ट

कोखिलामा सिरिञ्ज बोकेर
एउटा पहेंलो वर्तमान तिनकै छेउबाट जान्छ
पछि फर्किएर हत्तपत्त बोलाउँछन् विष्टजी
तर केही नसुनी गएको-गएकै हुन्छ
तिनको पहाड़को परास्त वर्तमान
अतीतको कुनै अँध्यारो र गुमनाम गुफातिर