Tuesday, June 28, 2011

सुन्नु भो, दुइ पनि बजेछ

गद्य कविता


सुन्नु भो, दुइ पनि बजेछ

दुइ पनि बजेछ। सबै सुतिसकेछन्। कोठामात्र लिङ्गविहीन भित्तामा झुण्डिएको कुँजे क्यालेण्डरका गुमनाम तारिखहरूबाट मूक लाटकोसेरोझैँ प्यासी आँखा फुकाल्दै जागिरहेको छ यतिखेर।

टुहुरो नि:श्वासहरू टाउको ठोक्काउँदै भित्तामा शहीद बन्छन्। फेरि-फेरि बौरिन्छन्। क्रमश:। सुकेनास लागेर चाउरिएको समय, हेर्नोस्न, घुँड़ा टेक्दै, थर्थर काम्दै मलाई अहिले नै सुतिनहाल्ने बिन्ती गर्दैछ। यसलाई त डर लाग्छ रे एक्लोपनदेखि।

पल्लो घरमा ती बूढ़ी तामाङनी बज्यै धरि एक्लै छिन्। फोक्सो नै निक्लेलाजस्तो खोक्छिन्। निदाउनै सकेकी छैनन्। सराप्दैछिन्। (कसलाई हँ?) नि:सन्तान सपनाका झरिला रातो बाणहरूझैँ उनका खोकीहरू, सुस्केराहरू, गालीहरू लश्करै हानिन्छन् व्याकुल वेगमा। सतहहरू छेँड़्दै। मनको फेदमा गाड़िँदै। आबाद हुँदै त्यहीँनेर।

बाँच्नु गाड़ीको हर्न बज्नु हो- कानैमा यो मन्त्रवाक्य फुस्फुस्याइराखेर एउटा बूढ़ो-बूढ़ो उत्ताउलो छायाँ मूलधाराको मुद्दाबाट तर्किन्छ। किनारिँदै आफै। कसैले सुन्दैन उसको घोर्ले आवाज। लख काटिहेरेँ- नबज्नु नखोक्नुझैँ त हुन्छ। नकराउनुझैँ। आइय्या नभन्नुझैँ। नचिथोर् नभन्नुझैँ। गाड़ीको एक्सिडेण्ट हुनु फलत:।

कोठामा लेख्दैछु, पढ़्दैछु। छिचोल्ने आँट जुटाएको हुँ कि एउटा नवजात संसारको मुटु? च्यात्ने कोशिश गरेको हुँ कि एउटा मरणासन्न व्याकरणको धरती? पुरानो टेबलमा छताछुल्ल किताबहरू हल्ला गरिरहन्छन्। म चाहिँ माग-गीत गाइरहेको हुन्छु- ज्ञानको स्टक-एक्सचेञ्जमा। इतिहासबाट परिचय, भोक र स्वाभिमानको जुलूस आइरहेको छ बिलिएर-बिलिएर निभ्न-निभ्न लागेको वर्तमानको सर्वहारा मैनबत्तीतिर। यतिखेर थाकेका कमजोर धुवाँलाई सोध्छु- कतै म चाहिँ गाड़ीको खोजीमा त छैन? जुन गाड़ीको हर्न बज्दा बाँचिएको सङ्केत हुन्छ। बाँच्नुको अर्थ बोकेर गुड़िरहने त्यो गाड़ी यो इलाकामा आउँछ कि आउँदैन हँ? अझ ठूलो आवाजमा सोध्छु- त्यो गाड़ीको नाम के हो? कुनै उत्तर नपाएपछि म आफैलाई भनिहेर्छु- खै, खै म पनि खोक्ने, आइय्या भन्ने, कराउने सीप सिकुँ। हर्न बज्ने कशिश गरिहेरुँ। एक खेप बस।

सुन्नोस्न, अहिले यो गाढ़ा रातमा पो बाहिर गएर निर्निमेष बदमाश हेराइले एकपल्ट आकाश हेर्ने तलतलको घाम मेरो व्यग्र मनको डाँड़ामा उदाउँछ। उदेकलाग्दो। झर्कोलाग्दो। सम्भवत: पराजित इतिहासका झिक्राहरू बलेको अगेनाको रापमा आङको ठिही टकटक्याउँदै फुच्चे ताराहरू भेला पारेर यो जाड़ोमा जिद्दी जून जिब्रो पड़्काउँदै आगत हरियालीको भविष्यकथा सुनाइरहेको हुन्छ। चर्किएकोमात्र देख्छु आकाश। ढुक्क पनि लाग्छ, त्यो झरिहालेको त छैन नि।

नयाँ दिनका बीउहरू कोर्न नपाएर यतिखेर बाँझो कागजमाथि उत्तानो लड़िरहेको रित्तो कलम नयाँ विचारको मसीको आदिम तिर्खाले छटपटिरहेको छ। गर्भमा ज्वार लिएर बसेको ए मसीको बन्द डिब्बा, बन्द दैलोको चुक्कुल तान्न जाउँ म उठेर? बाहिरबाट (भित्रबाट) बोलाहट हुँदैछ। छाँट त छ तर तेरो बिर्को खोलिने। आदिवासीबाट खोसेको जमीनमा उभ्याइएका सम्भ्रान्तहरूको पिरामिडमा संविधानको ममी छ। रकेट प्रक्षेपणको उल्टा गन्ती गन्दैछ टिभीमा समाचार च्यानलको सीधा प्रसारणले। मान्छेको भोको भुँड़ी, शिक्षाच्युत मस्तिष्क, चिकित्साच्युत शरीरमाथि टक्कटक्क उभिएका रीसका रकेटहरू तयार छन् प्रक्षेपणको निम्ति। हुनसक्छ, ती रकेटहरू संसदमै गएर पड़्किएलान्। नभए, ती यो कोल्टे व्यवस्थाको चिसो मुटुमै गएर पड़्किएलान्।

राति कुकुरहरू रुँदैछन्। कराउँदैछन् जोड़जोड़ले। तर रोएका छैनन् लुटिनेहरू। तर कराएकै छैनन् चिथोरिएकाहरू। र यो सुनसान रात खुल्ला खिड़कीबाट एक किसिमको तिक्खर गन्ध पसिरहेको छ। लगातार।

सुन्नु भो, दुइ पनि बजेछ। तर यो गन्ध कस्तो? केही डढ़िरहेको छ शायद युगौँदेखि।