Friday, July 29, 2011

भनिदिनुले

केवल छोइदिनुले

झर्छ रे शिरिषफूल



केवल हेरिदिनुले

लजाउँछ शिशु



थाक्नेलाई थाकेको छौ भनिदिनुले

ऊ अझ थाक्छ



रोएकोलाई तिम्रो आँसु झर्योु भनिदिनुले

ऊ अझ रुन्छ



हारेकोलाई तिमी हारेछौ हगि भनिदिनुले

ऊ अझ हार्छ



ठगिएकोलाई तिमी त ठगिएछौ नि भनिदिनुले

ऊ अझ ठगिएको ठान्छ



मरेकोलाई तिमी त मरेछौ है भनिदिनु मात्रले

ऊ कहाँ बौरिन्छ र



त्यसैले भन्ने ठाउँ छ भन्दैमा

भनिहाल्नु हुँदैन



भन्नु पनि कहिलेकाहीँ

भन्नुभन्दा अझ बढ़ी, अझ पर, अरू केही हुन्छ



भनिदिनु मात्र त्यसैले

काफी हुँदैन



त्यसैले कहिलेकाहीँ केही केही भन्नुहुँदैन



थाक्नेलाई, रुनेलाई, हार्नेलाई, ठगिनेलाई, मर्नेलाई

आफैआफ अनुभव गर्न दिनुपर्छ

कि ऊ थाकेको छ र अब ऊ थाक्नुहुँदैन

कि अब उसले रून छाड़्नुपर्छ

कि अब उसले जित्ने लड़ाइँ लड़्न थाल्नुपर्छ

कि अब उसले ठगारहरूलाई चिन्न सक्नुपर्छ

कि अब उसले बाँच्ने अभ्यास गर्नुपर्छ