Thursday, September 29, 2011

कम्पन 2011

1

शान्त आकाशमुनि

हठात् चल्मलाउँछ

चुपचाप धरती



बाँचेकाहरूलाई नमर्नुको आनन्दभन्दा

बाँचिपठाउनुको ग्लानि छ



शान्त आकाशमुनि

हठात् चल्मलाउँछ

चुपचाप धरती



यतिखेर हामी, बाँच्न पल्केकाहरू,

सोचिरहेका छौं -

अवश्य पनि धरतीलाई

कसैसँग रीस उठेको छ



2

नबोली बितिबस्छ समय



साँझपख धरतीको कम्पनसँगै

कामेर ढल्छन्

सोझा घरहरू

घमण्डी बिल्डिङहरू र

रूखजस्तै रूखहरू



बितिबस्छ समय नबोली



लगलग कामिरहेको

असहाय समाजको हुतिहारा दृश्य

आफ्नो डिजिटल क्यामेरामा

कैद गरिराख्छ समय

देखाउन कुनै नयाँ प्रजन्मलाई



समय नबोली बितिबस्छ



3

कम्पनपछि

बरू हाम्रो मलामी निस्कन्छ



हाम्रो अट्टेरी घमण्डको

हाम्रो जिद्दी पाखण्डको

जुनी भने गुणा भइबसेको



4

परिवारै गुमाउने साङ्छो लेप्चाको मूक हृदयमा

उसले बनाउँदै गरेको मोमो छ कि जून?

अट्टालिकाहरूको ध्वंसावशेषमा लाश छ कि नून?

हेलिकप्टरले झारेको त्राणको चामलमा कीरा छ कि सुन?

सहायताका मतलबी हातहरूमा

संसदको मसी छ कि जनताको खुन?



राजनैतिक लाग्ने यी प्रश्न त

कम्पनपछिका प्रतिकम्पनहरूजस्तै

हेर्नू नि, अइझ थुरिरहेका छन्

कोल्टे व्यवस्थाको झण्डामा



5

मन्त्री महोदय गाड़ी चढ़ेर आउन्

वा हेलीकप्टरमा उड़ेर

हुनु त भइसक्यो



संसदीय राजनीतिको दहमा

सुँगुरे खेल खेलेर

डम्म अघाएका महाशयहरू

किन मान्दैनन् अझ

यहाँ सब थोक अनिश्चित छ



अनिश्चितताको यति सादा सत्य बुझ्न

जोङ्घुका आदिम दाजुभाइहरूले

पैंचो लिएका थिएनन्

हाइडेगरको सिद्धान्तको



प्रकृतिको नजिक बस्ने असभ्यहरूलाई

प्रकृतिको किनारमा बस्ने सभ्यहरूलाई भन्दा

बढ़ी हेक्का छ-

कति बेला पानीले

टाउको नाघ्छ

कति बेला

सीमा तर्छ

चुपचाप सहनुले



प्रकृतिछेउ बस्नेहरूलाई थाहा छ-

सभ्यहरूको पपीको सुसु

सभ्यहरूको पत्नीको लोभ

सभ्यहरूको राजपाटको तोड़

सब धरतीमै उम्रन्छन्

र ढल्दा चाहिँ चन्द्रमामा ढल्दैनन्


6

सदा सर्छ, सरिरहेको हुन्छ ऊ

इतिहासलाई पनि सर्नु लगाउँदै

मेटिन लगाउँदै र नयाँ कोरिन लगाउँदै भूगोललाई

फेरिन लगाउँदै राजनीति-अर्थनीतिलाई



सदा सर्छ, सरिबसेको हुन्छ ऊ

मान्छेलाई मार्दै र जन्माउँदै

मान्छेलाई सदा फैलिन-फिँजिन लगाउँदै

मान्छेलाई समयको बाटोमा हिँड़ाउँदै



सदा सर्छ, सरिबसेको हुन्छ ऊ

ऊ टेक्टोनिक ढुङ्गा



टेक्टोनिक ढुङ्गालाई

सर्नुको कला थाहा छ



लुकाउनु सक्नु नै कला हो-

साबित गर्छ

टेक्टोनिक ढुङ्गाले नै



7

यो टेक्टोनिक समयमा

विज्ञानको खिया परेको रेतीले

कहाँ लाग्छ र खाटो?



कहाँ छ- दर्शनको तेल खोइ?


8

उकुसमुकुस मान्छे

निस्सासिएर मर्दैन पनि

बाँच्दैन पनि



उकुसमुकुस धरती

पड़किसकेर

स्थिरताको कोशिशमा

अस्थिर रहिरहन्छ



स्थिरता र गति

भन्नु

गतिकै दुइ पाटा


9

भैंचालोबाट

प्रकृतिले दिन्छ अभिव्यक्ति

आफ्नो गतिको



प्रकृति

गतिको निश्चितताबीच

अस्तित्वको अनिश्चितताको सङ्केत

दिइराखेर हेर्छ, हेरिबस्छ

गति र स्थिरताको

लड़ाइँ


10

यसरी कसलाई पर्खिएको?

यो पागलपन के को निम्ति?

यसरी कुन कम्पनको प्रतीक्षामा छौ?



पाउमुनि कहिल्यै

सरिसकेको छ नि भुइँ त...



यो कसका लागि?

यी के का लागि?



पाउनेहरूले पाइरहन्छन्

नपाउनेहरू गुमाइरहन्छन्



यसरी किन दौड़ेको तिमी?

यसरी कहाँ गएको तिमी?



हे मानवश्रेष्ठ

अब त आत्मसात गर

कम्पनलाई

सत्यलाई

(सेप्टेम्बर 2011)